अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ औं महाधिवेशनबाट केपी ओलीलाई नै पार्टी अध्यक्ष बनाउनुपर्छ: कमल चौलागाईँ

११ औं महाधिवेशनबाट केपी ओलीलाई नै पार्टी अध्यक्ष बनाउनुपर्छ: कमल चौलागाईँ


रामेछाप-नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्ति २०८२ भदौ २३ र २४ को घटना गराएको बताउनुभएको छ।

नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले आज साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएका बताउनुभयो। ‘केपी शर्मा ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ गते घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उहाँले भन्नुभयो ।

नेता चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताउनुभयो। तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको धारणा छ। नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर सिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँमाथि यो आक्रमण भएको चौलागाईँको भनाई छ। यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ।

नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उहाँले बताउनुभयो। जेनजीको सामान्य माग भित्र बरबरा फाउण्डेसन तथा तिब्बतियन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उहाँले सुनाउनुभयो। ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंसक जत्थासँग मिलेका उहाँले दाबी गर्नुभयो । ‘अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उहाँले भन्नुभयो ।

अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उहाँले दाबी गर्नुभयो। अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ।

एमालेकै केही नेताहरू आफ्नो नेता केपी ओली मारियो कि ज्युँदै छ भन्ने कुरा समेत थाहा नभएको अवस्थामा विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नु पर्छ भन्दै हिँडेका चौलागाईँले बताउनुभयो। बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत केपी ओली ठिक रहेछन् भनेर भन्न लागेका उहाँले सुनाउनुभयो।

पार्टीको आउने महाधिवेशनबाट केपी ओली नै पार्टी अध्यक्ष हुने पनि नेता चौलागाईँले बताउनुभयो। उहाँले एमालेको अभिभावकको रूपमा रहेका राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको समेत बताउनुभयो।

नयाँ नेतृत्व चुन्नका लागि नेकपा (एमाले)ले ११ औं महाधिवेशन गर्दैछ। मंसिर २७, २८, २९ गते काठमाडौंमा महाधिवेशनका गर्ने निर्णय गरिएको छ। आगामी मंसिर १३ गते एमालेले देशैभर एकैदिन प्रतिनिधिहरू छान्दैछ।