जाजरकोट- देशको पछिल्लो राजनीतिक परिस्थितिमा आएको अस्थिरता र जनअविश्वासका कारण केही राजनीतिक दलहरू आफ्नो अस्तित्व नै जोगाउन नसकी हराउँदै गएको नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताउनु भएको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका-सानाखोलामा नेकपा (एमाले) द्वारा आयोजित जनजागरण सभामा बोल्दै नेता आचार्यले पछिल्लो सन्दर्भमा पार्टीका नाममा चलिरहेका केही स्वार्थी समूहहरू अब जनता बीचबाट हराउँदै गएको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘पछिल्ला केही दिनयता देशमा देखिएको राजनीतिक उथलपुथल र सत्ता स्वार्थका खेलले साना दलहरू टुटफुट र विसर्जनको मुखमा पुगेका छन्। तर नेकपा (एमाले) भने देशको विकास र जनताको हितमा अडिग भएर अघि बढिरहेको छ।’
उहाँले भन्नुभयो, ‘परिस्थितिको सामना गर्न नसकी केही दलहरूले पार्टी कार्यालयका सटर बन्द गरे, पार्टीका बोर्ड उल्ट्याए र आफ्नै संगठन छाडेर हिँडे। पार्टी बिगठन गरे तर नेकपा (एमाले) जनताको साथ र राष्ट्रप्रतिको प्रतिबद्धतासहित दृढतापूर्वक अघि बढिरहेको छ।’
नेता आचार्यले देशको विकासको कुरा गर्ने खुदुरा व्यापारीजस्ता दलहरू अब इतिहासको पाना बनेर हराउँदै गएका भन्दै एमाले मात्र जनताको आशा, भरोसा र स्थायित्वको केन्द्र बनेको बताए । नेता आचार्यले संविधान, सार्वभौमसत्ता र राष्ट्रियताको संरक्षणलाई एमालेको पहिलो प्राथमिकता भएको स्पष्ट पार्दै भने, “मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता र संविधानको रक्षा हाम्रो दायित्व हो । यसको लागि जनताको साथ अपरिहार्य छ, जनताको विश्वासले नै देश बलियो बन्छ ।” उनका अनुसार देश, जनता र राष्ट्रविरुद्ध हुने गतिविधिहरूका विरुद्ध एमाले सधैं प्रतिवद्ध रहँदै आएको छ ।, अहिले एमाले देशव्यापी जनजागरण अभियानमार्फत गाउँ–गाउँमा, वडा देखि बस्तीमा पुगेको छ, जहाँ जनताको आवाज सुन्ने र सशक्त बनाउने अभियान चलिरहेको छ । “एमालेले जे भन्छ, त्यसलाई काममार्फत प्रमाणित गर्छ,” उनले भने, “तर आज सत्तामा रहेका केही केही जेन्जी नामका मन्त्रीहरु भाषणमा सीमित छन् । उनीहरूलाई जनताको पीडा होइन, सत्ताको मिठास मात्र चाहिएको छ ।”
नेता आचार्यले अहिलेको जेन्जी सरकारले देशमा देखिएको आर्थिक मन्दी, बेरोजगारी र भ्रष्टाचारप्रतिको मौनतालाई गम्भीर समस्या ठहर गर्दै भने, “जनताको ढोका ढक्ढक्याउने, गाउँमा पुग्ने, किसान र मजदुरसँग बस्ने सरकार चाहिन्छ, तर अहिले सत्तामा रहेकाहरु सामाजिक सञ्जालका भित्ता निकाल्दै प्रचारबाजी लागेको आरोप लगाए ।







प्रतिक्रिया