काठमाडौँ-अखिल नेपाल महिला सङ्घ केन्द्रीय सचिव बिनादेवी राईले राष्ट्रियताको विषयमा अरू पार्टीले सडक र मञ्चमा कुरा उठाए सत्तामा जाँदा बिर्से तर एमालेले सत्तामा जाँदा नै राष्ट्रियताको मुद्दा जोडदार साथ उठाएको बताउनुभएको छ।
नेकपा एमालेले खोटाङको चिसापानीमा आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राईले एमालेले नाकाबन्दीको विरुद्ध उभिएको र कालापानी लिपुलेक समेटेर चुच्चे नक्सा समेटेर नेपाली भूमी फिर्ता ल्याउने प्रक्रियाको थालनी गरेको बताउनुभयो। ‘अरु पार्टी गाउँमा आँउदा,मञ्चमा भाषण गर्दा राष्ट्रिताको कुरा गर्दछन् तर सत्तामा गए पछि बिर्सन्छन्’ राईले भन्नुभयो ‘तर एमाले सडकमा हुँदा पनि सत्तामा हुँदा पनि राष्ट्रियताको कुरा गर्छ । त्यसको पक्षमा काम गर्छ।’
भदौ २४ गतेपछि आफूलाई एमाले त्याग्न र सामाजिक सञ्जालमा नलेख्न थुप्रै मानिसहरुले सुझाएको स्मरण गर्दै राईले कसैले उक्साएको वा निरुत्साहित बनाएको भरमा आस्थाको धरोहर एमाले छोड्ने विषय कल्पना भन्दा बाहिरको कुरा भएको बताउनुभयो। उहाँले एमालेका नेताहरुलाई विरोधीहरुले लगाएको अनावश्यक आरोपको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ। ‘तपाईंहरुले देख्नु भयो भदौ २४ गते अरु पार्टीका नेताको घरमा के के जल्यो। एमालेका अध्यक्षको रुपमा के जल्यो ?’ राईले भन्नुभयो ‘देखियो अरु पार्टीका अध्यक्षका घरमा पैसै पैसा जल्यो। हाम्रो पार्टीका अध्यक्षको घरमा किताबै किताब जल्यो।’
पार्टी भित्रर बाहिरबाट मानिसहरु किन केपी शर्मा ओलीको विरुद्धमा लागे भनेर गम्भिर भएर सोच्नुपर्ने उहाँले बताउनुभयो। केपी ओलीले राष्ट्रियताको पक्षमा उभिएको कारणले देशी तथा विदेशीहरुले एक सुत्रीय ढंगले प्रहार गरेको बताउनुभयो। ‘राष्ट्रियताको पक्षमा,राष्ट्रभक्ति,नाकाबन्दी वा चुचे नक्सामा राखेको अडान र अरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत राखेको हुनाले केपी ओली विरुद्ध मानिसहरु लागेका हुन्’ राईले भन्नुभयो, ‘त्यसैले कोही पनि भ्रममा नपरौं । एमालेको नेतृत्वको रक्षामा हामी उभिनु भनेको राष्ट्रियताको पक्षमा उभिनु हो ।’







प्रतिक्रिया