अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक

संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्छ: कांग्रेस नेता श्याम घिमिरे

संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्छ: कांग्रेस नेता श्याम घिमिरे


काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने प्रस्ताव राख्नुभएको छ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उहाँले पार्टीले सरकार गठन र संसद् पुनर्स्थापनालाई असंवैधानिक भनिसकेकाले त्यसैको पक्षमा उभिनुपर्ने बताउनुभएको हो।

नेता श्याम घिमिरेले भन्नुभयो, ‘हामी विगतमा पनि प्रत्येक पटक संसद् विघटन हुँदा पुनर्स्थापनाको पक्षमा अदालत गएका छौँ। यस पटक पनि किन यो मुद्दाको पक्षमा नउभिने ? हामीले संसद् विघटन र सरकार निर्माणलाई असंवैधानिक कदम भनिसकेका छौँ ।’

नेता श्याम घिमिरेले आफूले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने भएरै विघटित प्रतिनिधि सभाका सांसदहरूको हस्ताक्षर संकलन गरेका बताउनुभयो। उहाँले आफूलाई हस्ताक्षर संकलन गर्न सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू कसैले पनि निर्देशन नदिएको बताउनुभयो।

फागुन २१ मा चुनाव भए पनि संसद् लामो नजाने भन्दै चालु बैठकबाट पुनर्स्थापनाको पक्षमा उभिने निर्णय गर्न उहाँले माग गर्नुभयो।

संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।