काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताउनु भएको छ।
रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पार्टी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरुसँगको छलफलमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो।
छलफलमा सहभागी विघटित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किनेहरूको सूची एक साताभित्र पेश गर्न भनेका छन् । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलले बताउनु भयाे ।
पूर्व हैसियतभन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने उहाँले बताउनुभयो। तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने उहाँले जानकारी दिनुभयो। ‘एमालेमा आउनु भएका सबै साथीहरूको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भन्नुभयो।
पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुने देखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरूमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले बताउनुभयो । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरूलाई अहिले नेता मात्रै भन्ने, जिम्मेवारी चाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नुभयो’, उहाँले भन्नुभयो।







प्रतिक्रिया