रामेछाप-नेकपा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँले प्रतिनिधिसभा पुनर्स्थापना गर्नु हुँदैन भनेर भन्ने कुनै पनि कानुनी र संवैधानिक आधार न्यायाधीशहरूसँग नभएको बताउनुभएको छ।
नेकपा एमाले रामेछापले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गर्न लागेको जनप्रदर्शनको तयारीका लागि बुधबार मन्थलीमा आयोजना गरिएको बैठकमा बोल्दै उहाँले संसद् स्थापनाबाट नै अहिलेको सङ्कट समाधान गर्न सकिन्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको बताउनुभयो। ‘संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना गरेर नै जाने हो’, उहाँले भन्नुभयो।
हिजो कसैले बोल्न नआँटेको कठिन समयमा पनि एमालेले संसद् पुनर्स्थापनाको मुद्दा उठाएको स्मरण गर्दै उहाँले अहिले नेपाली कांग्रेसले समेत संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेको जानकारी दिनुभयो। यस मानेमा एमालेका नेता तथा कार्यकर्ताले गर्व गर्नुपर्ने उहाँको धारणा छ।
अहिलेको अवस्थामा चुनाव सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, ‘चुनाव त हुनै सक्दैन, अहिले प्रहरी चौकीमा बस्न सकेको छैन, साँझ पर्नासाथ प्रहरी ब्यारेक फर्कन्छ, सेना मूकदर्शक बनेको छ, सुरक्षा निकायले नै सुरक्षा दिन सक्दैन, यस्तो अवस्थामा कसरी चुनाव हुन सक्छ ?’
प्रतिनिधि सभा पुनर्स्थापना गर्नु हुँदैन भन्ने कुरा न्यायाधीशहरूले भन्न नसक्ने उल्लेख गर्दै उहाँले न्यायाधीशहरूलाई समेत धम्की दिइएको जानकारी दिनुभयो । त्यसका विरुद्ध जनदबाब सिर्जना गर्न नेकपा एमाले अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रवादी शक्ति र राष्ट्रवादी नेतामाथिका आक्रमणको परिणाम सधैँ राष्ट्रघाती र जनविरोधी नै हुने बताउँदै उहाँले भदौ २३ र २४ का घटनाको परिणाम पनि त्यसैको उदाहरण भएको उल्लेख गर्नुभयो । ती घटनाहरू बाह्य शक्तिको आक्रमणका परिणामस्वरूप भएको उहाँको भनाइ थियो । ती घटनाको पर्दा अहिले विस्तारै खुल्दै गएको बताउँदै उहाँले सुरक्षा निकायले समेत त्यसबेला हात उठाएको र राष्ट्रलाई नै विघटन गर्ने प्रयास भएको आरोप लगाउनुभयो। ‘राष्ट्रविरोधी शक्तिले भदौ २३ र २४ का घटनामा राष्ट्रवादी शक्तिमाथि आक्रमण गरे, त्यसकै परिणाम अहिले देखिँदै छ,’ उहाँले भन्नुभयो ।
देश र व्यवस्था संकटमा पर्दा नेकपा एमाले सतिसालझैँ दृढतापूर्वक उभिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘अरू पार्टीहरूको नेतृत्व डराएर भागिरहेको बेला हाम्रो नेतृत्व अडानका साथ उभिएको छ, अहिलेको चुनौती षड्यन्त्रपूर्ण छ, राष्ट्रको अस्तित्व नै सङ्कटमा छ, त्यसका विरुद्ध हाम्रो पार्टी अध्यक्ष दृढतापूर्वक उभिनु भएको छ, खुट्टा कमाएर पुच्छर लुकाएर भाग्ने बेला होइन भन्ने सन्देश उहाँले दिनुभएको छ।’
देश, जनता र समुदायको सुरक्षाका लागि अब राजनीतिक दलहरूले नै सोच्ने बेला आएको उल्लेख गर्दै उहाँले नेकपा एमालेले टोल–टोलमा सुरक्षा दस्ता गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

कार्यक्रम नेकपा एमाले रामेछापका अध्यक्ष उहाँ पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला, पालिका र वडास्तरीय नेताहरूको समेत सहभागिता रहेको थियो । बैठकमा पार्टीको अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेताहरूले सुझाव दिएको जानकारी पार्टी प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले दिनुभयो ।
बैठकले कात्तिक २९ गते हुने जनप्रदर्शनलाई प्रभावकारी बनाउन विभिन्न समिति र उप–समितिहरू गठन गरी तयारी अघि बढाएको जानकारी पार्टी सचिव प्रकाशकुमार कार्कीले दिनुभयो।







प्रतिक्रिया