काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राष्ट्रिय गौरवका आयोजना र मुलुकी अपराध संहिता फरक कुरा हुन् भन्ने स्मरण गराउनु भएको छ ।
पाण्डेले आज चितवनमा अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै धरहरा बनाएको जस लिनेले भदौ २३ गतेको गोलिकाण्डको अपजस पनि लिनु पर्दछ भन्ने अभिव्यक्ति दिएपछि त्यसको काउण्टरमा भण्डारीले पूर्वअर्थमन्त्री समेत रहनु भएका पाण्डेलाई सो कुरा स्मरण गराउनु भएको हो ।
भण्डारीले सामाजिक सञ्जालमा पाण्डेको नाम उल्लेख नगरी राष्ट्रिय गौरवका आयोजनाको छनौट,कार्यान्वयन प्रक्रियाको पनि स्मरण गराउनु भएको छ । ‘राष्ट्रिय गौरवको आयोजना सरकारले छनौट गर्छ । त्यसलाई कार्यन्वयन गर्ने प्रक्रिया अगाडी बढाउँछ । सम्पादन भएपछि त्यो कार्य मैले गरेको हो भनेर गौरव गर्दछ’ भण्डारीले लेख्नु भएको छ ।
भण्डारीले राष्ट्रिय सम्पदा र सार्वजनिक सम्पती सुरक्षाको जिम्मा प्रचलित कानुनले जुन निकायलाई दिन्छ,त्यसले ऐनहरु समेतलाई टेकेर कार्यसम्पादन गर्ने उल्लेख गर्नु भएको छ ।
‘पार्टीको उपाध्यक्ष र देशको अर्थमन्त्री भइसकेका नेताको अभिव्यक्ति जिम्मेवार देखिदैन’ भण्डारीले यो बेलासँग भन्नुभयो ‘उहाँले गौरवका आयोजनाको शिलान्यास र उद्ध्घाटन कसरी हुन्छ भन्ने नबुझेर पनि होइन । मुलुकी अपराध संहिता नबुझेर पनि यस्तो अभिव्यक्ति दिनुभएको हो भने यी दुई प्रक्रिया फरक फरक हुन् भन्ने स्मरण गराउन चाहन्छु । ’
भण्डारीले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ :
राष्ट्रिय गौरवको आयोजना सरकारले छनोट गर्छ । त्यसलाई कार्यान्वयन गर्ने प्रकृया अगाडि बढाउँछ । सम्पादन भएपछि ‘यो कार्य मैले गरेको हो’ भनेर गौरव गर्छ ।
राष्ट्रिय सम्पदा र सार्वजनिक सम्पत्ति सुरक्षाको जिम्मा प्रचलित कानूनले जुन निकायलाई दिन्छ, त्यसले निम्न ऐनहरुसमेतलाई टेकेर कार्य सम्पादन गर्छ –
१. मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ (फौजदारी न्यायको सामान्य सिद्धान्तहरु) अन्तर्गत रहेको दफा २३–२६ सम्म)
२. आवश्यक वस्तु संरक्षण ऐन, २०१२ बमोजिम आवश्यक वस्तुको परिभाषा र परिच्छेद ६ मा रहेको बिषय ।
३. प्रहरी ऐन, २०१२ को परिच्छेद ६ को अपराध र सजाय अन्तर्गत दफा ३३ (ख) मा रहेको अन्य कडा अपराधहरु ।
४. प्रहरी नियमावली, २०७१ को परिच्छेद ६ (प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार अन्तर्गतको नियम ६७ ।







प्रतिक्रिया