काठमाडौं-नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीमा पुनः फर्किने अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै पूर्व र हालका कार्यकर्तालाई आफ्नो विवरण पठाउन आह्वान गर्नुभएको छ।
नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै एमालेमा पुनः एकताको लहर तीव्र बन्दै गएको उल्लेख गर्नुभएको छ। उहाँको भनाइमा, नेपाली कम्युनिष्ट आन्दोलनको लामो इतिहास, संघर्ष र बलिदानको विरासत बोकेको एमाले पार्टीमा फर्किने अभियान अब देशभर फैलिएको छ। ‘हामी नेपाली कम्युनिष्ट आन्दोलनको विरासत बोकेको पार्टी, नेपाली कम्युनिष्ट आन्दोलनको प्रवाह हौँ’ उहाँले लेख्नुभएको छ, ‘हामी धेरै मान्छे/योद्धाहरूको जीवन र जवानी खर्चेर बनाएको आफ्नै पार्टी नेकपा (एमाले) फर्किने अभियानमा छौँ, हामीमध्ये कतिपय फर्किसक्नुभएको छ।’
नेतृ झाँक्रीले अहिले सदस्यता अद्यावधिक र सांगठनिक पुनर्संरचनाको क्रममा सबै पुराना तथा फर्किन इच्छुक कार्यकर्तालाई आफ्नो विवरण पठाउन आग्रह गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘यो क्रममा सदस्यता अद्यावधिक र सांगठनिक कामको जिम्मेवारीका लागि विवरण आवश्यक छ, नेकपा (एकीकृत समाजवादी) भएपछि वा नेकपा (एमाले) हुँदा नै पार्टी सदस्य हुनु भएकाले आफ्नो सदस्यताको विवरण, हाल जिम्मेवारी बहन गरिरहनु भएको कमिटी/पद, ठेगाना, अन्य जनसंगठन, पेसागत संगठन, भातृसंगठन वा जनवर्गीय संगठनमा रहेको पद र सम्पर्क विवरण पठाउनुहोस्।’
उहाँले सबै विवरण पाँच दिनभित्र पठाउन अनुरोध गर्दै आफ्नो सम्पर्कका माध्यमहरू फोन, व्हाट्सएप र फेसबुक मेसेन्जर मार्फत जानकारी लिन सकिने बताउनुभएको छ ।
नेतृ झाँक्री हाल नेकपा (एमाले) फर्किने अभियानको सक्रिय नेतृत्वकर्ता हुनुहुन्छ । उहाँले पार्टीभित्र एकता र पुनर्गठनको प्रक्रियालाई ‘कम्युनिष्ट आन्दोलनको निरन्तरता र सुधारको अवसर’का रूपमा व्याख्या गर्दै एमालेलाई ‘जनताको भरोसाको केन्द्र’ बनाउने सङ्कल्प प्रकट गर्नुभएको छ।







प्रतिक्रिया