अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन सङ्कटतर्फ लैजाने बताउनुभएको छ। लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने महासचिव पोखरेलले बताउनुभयो।

नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्न प्रतिनिधि सभाको पुनर्स्थापना गरेर त्यसका माध्यमबाट युवाहरूका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ। ‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव २०८४ मा नै पुर्‍याउनु पर्छ भन्ने छैन। अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भन्नुभयो, ‘यी सबै काम गर्नका लागि पहिलो सर्त प्रतिनिधि सभाको पुनर्स्थापना हो।’

महासचिव पोखरेलले केही मानिसहरुले दलहरु सिद्धिए। खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताउनुभयो। ‘दलहरु सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो। एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरु सडकमा आए,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जनताहरु एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

महासचिव पोखरेलले केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताउनुभयो। नवयुवाका नाममा भएको आन्दोलनमा व्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहिनताको अवस्थामा पुर्‍याउन खोजिएको पोखरेलले बताउनुभयो। ‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुसी नहोऊँ’ महासचिव पोखरेलले भन्नुभयो ‘यो त नेपाललाई राज्यविहीन बनाउने,नेपाल र सारा नेपाली जनता माथि भएको प्रहारको रूपमा बुझ्नु पर्दछ।