अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन

कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन


 काठमाडौं-नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्। उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गरेका हुन् ।

१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्नुपर्ने माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् ।

मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् । यस्तै, केन्द्रीय सदस्यहरू धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।

मागपत्रमा नेता नारायणबहादुर कार्कीको नाम पनि समावेश छ । अनलाइनखबरलाई प्राप्त मागपत्रमा उनको नामका पछाडि ‘मौखिक सहमति’ लेखिएको छ ।

‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने,’ माग पत्रमा भनिएको छ ।