अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका नेता सन्तोष परियारद्वारा पार्टी परित्याग

रास्वपाका नेता सन्तोष परियारद्वारा पार्टी परित्याग


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ।

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ,’ झाले भन्नुभयो, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो।  आगामी यात्राको लागि उहाँलाई शुभकामना।’

परियारले पनि छुट्टै अभियान सञ्चालन गर्नका लागि पार्टी छोडेको बताउनुभयो। परियारले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गर्नुभयो।

परियार विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा परियारले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाड्नुभएको थियो । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भन्नुभएको थियो, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’