अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण


काठमाडौं- सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद् मध्ये ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन्।

अझै ३ जना सम्पत्ति मन्त्रीले विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। त्यसपछि प्रधानमन्त्री कार्कीले ३० भदौमा पहिलो चरणमा पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी र अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गर्नुभएको थियो ।

यी तीन मन्त्रीले पद सम्हालेको ६१ दिन पुगेको छ। तीमध्ये गृहमन्त्री अर्याल र अर्थमन्त्री खनालले सम्पत्ति विवरण बुझाइसकेका छन् भने ऊर्जामन्त्री घिसिङले अहिलेसम्म बुझाएका छैनन्।

प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा ६ असोजमा चारजना मन्त्री थप्नुभएको थियो। अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्। मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन्। जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।

यी चार मन्त्री बनेको ५४ दिन पूरा भएको छ। तीमध्ये सञ्चारमन्त्री खरेलले अझै सम्पत्ति विवरण बुझाएका छैनन्।

तेस्रो चरणमा ९ कात्तिकमा मन्त्रिपरिषद् विस्तार गर्दै पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको थियो।

तीमध्ये खेलकुद मन्त्री गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन् भने स्वास्थ्य मन्त्री सुधाले अझै बुझाउन बाँकी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त गर्ने प्रक्रिया जारी छ । ‘सबैको विवरण आएपछि सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्छ,’ उहाँले भन्नुभयो।