अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ती साथीहरू आज कता हुनुहुन्छ ?

ती साथीहरू आज कता हुनुहुन्छ ?


नेकपा एमाले यो देशको सबैभन्दा ठूलो लोकप्रिय पार्टी हो। शान्त भएर बसेको यो पार्टीको तलाउमा बेला बेला ढुङ्गा हानेर अशान्त पार्ने प्रयास भइरहन्छ। यो आज मात्र होइन झन्डै ३० वर्ष देखि यो क्रम निरन्तर चलिरहेको छ। यस विषयमा मेरा आफ्नै अनुभव छन्। आफनै भोगाइ छ। पार्टी भित्र सधैँ संस्थापनको विरोध गर्ने र पार्टीमा किचलो गरिरहने एउटा समूह छ। त्यो समूहको काम नै एमालेको तलाउमा ढुङ्गा हान्ने र किनारामा बसेर रमिता हेर्ने। अहिले निकालिएको विवाद तलाउको ढुङ्गा मात्र होइन दक्षिणपन्थी अवसरवादको चरम नमुना पनि हो। यस प्रकारका अवसरवादका नमुना इतिहास देखि नै छन्। जसलाई म निम्न अनुसार प्रस्तुत गर्न चाहन्छु। 

१. २०४२ पछि सिपी कमरेडलाई साथ दिनुपर्छ भन्दै समूह बनाउने, पार्टीको मूल नेतृत्व र विचारको विरोध गर्न मलाई धेरै कमरेडले कन्भिन्स गर्नु भयो, तर हामी धेरै त्यता  लागेनौँ। ती साथीहरू आज कता हुनुहुन्छ ?

२. २०५४ मा कमरेड वामदेव तिर लाग्नु पर्छ भन्दै मूल नेतृत्वको विरुद्ध झन् धेरै क्रान्तिकारी स्वरमा मलाई कन्भिन्स गर्नु हुन्थ्यो। तर हामी धेरै त्यता लागेनौँ साथीहरू आज कता हुनुहुन्छ ?

. २०६३ तिर कमरेड अशोक राई तिर लाग्नु पर्छ भन्दै कन्भिन्स गर्नुहुन्थ्यो, तर हामी धेरै त्यता लागेनौँ। साथीहरू आज कता हुनुहुन्छ ?

. २०७८ तिर फेरि कमरेड माधव नेपालतिर लाग्नु पर्छ अन्यथा पार्टी रहँदैन भन्दै कन्भिन्स गर्नु हुन्थ्यो। तर हामी धेरै त्यता  लागेनौँ। साथीहरू आज कता हुनुहुन्छ ?

५. पछि फेरि प्रचण्ड र नेपाललाई साथ दिनुपर्छ भन्नु हुन्थ्यो निकै कडा कनभिन्स गर्नुहुन्थ्यो। तर हामी धेरै त्यता लागेनौँ । साथीहरू आज कता हुनुहुन्छ ?

६. पछि फेरि झन् ठुलो स्वरमा कमरेड माधव नेपाललाई साथ दिनुपर्छ भन्नुहुन्थ्यो,तर हामी धेरै त्यता लागेनौँ- साथीहरू आज कता हुनुहुन्छ ?

७. तीन वर्ष अघि  कमरेड भीम रावललाई साथ दिनु पर्छ भन्नु हुन्थ्यो,तर हामी धेरै त्यता  लागेनौँ साथीहरू आज कता हुनुहुन्छ ?

आज केही कुरा पुष्टि भएजस्तो लाग्छ। हिजो ती क्रान्तिकारी साथीहरूले कन्भिन्स गरेको बेलामा यो पार्टीको संस्थागत, नीति, कार्यक्रम, नेतृत्व छाडेर माथिका कुनै कमरेडहरूको पछि लागेको भए र उनीहरूलाई नेतृत्व बुझाएको भए, आज हामी सबैलाई माओवादी र प्रचण्डको पाउमा चढाउने रहेछन्। आदर्श, विचार र कार्यक्रम विहीन हुने रहेछौँ।

यसरी लगातार सातौँ पटकसम्म मूल नेतृत्व र नीति विरुद्ध किचला गर्ने र समूह बनाउने काम पार्टी विभाजनको बीउ रोप्ने रहेछ। कहिल्यै सफल नहुने खेल रहेछ। बरु पटक-पटक पार्टीलाई कमजोर बनाउन, सयौँ इमानदार कार्यकर्ता र आफैँ सकिने काम रहेछ।

(जति पटक अवसर र पदका निम्ति संस्थागत नेतृत्व निर्णय विरुद्ध घेराबन्दी भयो, ती आफै असफल भए।

(त्यसैले, जुनसुकै सङ्घ, संस्था र त्यसको कार्यक्रम र लक्ष्यलाई पुरा गर्नु छ भने केही कमजोरीका बाबजुद पनि दीर्घकालीन लक्ष्य बोकेर हिड्नेहरुले मूल बाटो र संस्थागत निर्णयमा स्थिर रहनु अनिवार्य रहेछ। आफूले देखेका कतिपय कमजोरीहरू समय क्रममा सुधार गर्न नमान्नेहरू आफैँ कमजोर हुने रहेछन्। हतार, उत्तेजना, महत्त्वाकाङ्क्षा, र पद लोलुपताले मूलबाटो छोडेर, सहायक बाटो लाग्नेहरूको, मूल बाटोमा फर्कँदा फर्कँदै समय विति सक्ने रहेछ। तिनीहरूका लागि संस्था, उद्देश्य, कार्यक्रम, समय र जीवनको अनुभव। बाहिर अभिव्यक्त नगरे पनि मन भित्र, कुण्ठा, डाहा, आरिस र जलनले अमिलो भइरहने रहेछ।