काठमाडौं-प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले केपी ओलीको विरुद्धमा चलाइएको अभियान नरोके निकै गम्भीर परिणाम भोग्नुपर्ने सच्चाइतर्फ गम्भीर बन्न पार्टीभित्र र बाहिरका सबै पक्षलाई सुझाव दिनुभएको छ। प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालयमा आयोजना गरेको संवादमा बस्नेतले यस्तो तथ्य औँल्याउनु भएको हो।
प्रेस चौतारीले शुक्रवार संगठनको तर्फबाट नेपाल पत्रकार महासंघमा रहेका केन्द्रीय समितिसहित प्रदेश र जिल्ला अध्यक्षहरूसँग संवाद गरेको हो । लोकतन्त्रको रक्षा र पत्रकारिता क्षेत्रमा देखा परेको चुनौतीसहित संगठनको आन्तरिक एकतालाई एजेण्डा बनाएर गरिएको छलफलमा सहभागीहरूको सुझावपछि आफ्नो धारणा राख्दै निवर्तमान अध्यक्ष बस्नेतले अब सत्यको पक्षमा जिब्रो फड्कालेर बोल्ने दिन आएको भन्दै न्याय र अन्यायबिचको युद्धमा कोही पनि योद्धाहरू तटस्थ बस्न नमिल्ने बताउनु भयो ।
अहिले नेपालमा सत्यलाई पराजित गरेर असत्यको राज चलाउने होड चलेको भन्दै बस्नेतले अव पनि चुप बस्ने र सत्यको पथमा हिँडेका योद्धाको बदख्वाइँ गर्नेहरू आफूलाई समाजको अगुवा वा नेता भन्न नमिल्ने पनि बताउनु भयो । ‘जेनजी आन्दोलन के हो ? क्रान्ति हो कि प्रतिक्रान्ति ? भदौ २४ गतेको विध्वंसकारी घटना के हो ? आक्रोश मात्रै हो कि सुनियोजित विध्वंस हो ? मिडिया हाउस किन जलाइयो ? सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत किन जलाइयो ? किन दमकल आएन ? यो तथ्यलाई आग्रह–पूर्वाग्रहबिना एक पटक ठण्डा दिमागले सोचौँ त, के हो भन्ने सच्चाइ मनमस्तिष्क दुवैले भेटाउँछ,’ बस्नेतले भन्नुभयो ।
निवर्तमान अध्यक्ष बस्नेतले पत्रकार डराएर वा लाचार बनेर सत्य लेख्नबाट विमुख हुन नहुने पनि बताउनु भयो । ‘आफूलाई पत्रकार भन्ने, समाजको ऐना भन्ने, आवाजविहीनहरूको आवाज भन्ने, दृष्टिविहीनहरूको दृष्टि हौँ भन्ने तर जेनजी आन्दोलन हाइज्याक गरेर भएको विध्वंसकारी घटनाको सबै दृश्य देख्दा पनि चुप बस्ने ? यो त कायरता हो, आत्मसमर्पण हो, यस्तो गर्नेहरूले पत्रकार भन्न मिल्दैन,’ बस्नेतले भन्नुभयो ।
उहाँले जेनजी आन्दोलनको प्रसङ्गमा सबैभन्दा बढी अन्यायमा परेको व्यक्ति तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली रहेको तर उहाँलाई नै थप यातना दिएर निशाना बनाइएको बताउनु भयो । ‘केपी ओलीलाई कसैगरी पनि सत्ताबाट हटाउन नसकेपछि जेनजीको नाममा प्रतिक्रान्ति भयो । लुसिफरदेखि जनयुद्धबाट उदाएको भन्दै माओवादी, सहकारी ठगवादी, राप्रपा, पूर्वराजावादी, विवेकशील साझासम्मका विदेशीका भरिया बनेर बसेका अभियन्ताहरू पनि देश जलाउन लागे । घटनाक्रमले यो तथ्यलाई उजागर गरिसकेको छ,’ बस्नेतले भन्नुभयो ।
बस्नेतले जेनजी आन्दोलनमा भएको विध्वंसकारी काम कुनै रूपमा पनि क्षमा दिन नमिल्ने बताउनु भयो । बस्नेतले थप्नुभयो, ‘सिंहदरबारमा आगो लगाइयो, संसद् भवन जलाइयो, सर्वोच्च अदालत जलाइयो, व्यक्तिको घर मात्रै होइन, नागरिकको सुरक्षाका लागि खडा गरिएको प्रहरी चौकीहरू पनि जलाइयो । मिडिया हाउस जलाइयो, यी सबै काम आन्दोलन वा आक्रोश होइन, नियोजित रूपमा घटाइएको आतङ्ककारी काम हो, जसले नेपाललाई ३० औँ वर्ष पछाडि धकेल्यो । अहिले त्यही आततायी जत्था केपी ओलीविरुद्ध केन्द्रित भइरहेको छ ।’ उहाँले केपी ओलीको घर जलाउन सबैभन्दा पहिला माओवादी, कांग्रेसको देउवा विरोधी समूहदेखि पूर्वराजावादी र रास्वपाका कार्यकर्ताहरू देखिएको भन्दै अरूको जलाउँदा आफ्नो पनि खरानी बनेको तथ्य बुझ्न सुझाउनु भयो ।
‘केपी ओलीको राजीनामाले मात्रै पुगेन भन्दै बाल्कोटको घर जलाउन मान्छे उचालेर पठाउनेहरू को थिए ? जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री बन्न प्रचण्ड आफै दौडिए, बालेनदेखि ‘सुल्पे’ समूह पनि दौडियो, पृथ्वीसुब्बा गुरुङ हुँदै केपी ओली, शंकर पोखरेलको घरमा सबैभन्दा पहिला निसाना बनाइयो । पछि आफ्नै घरमा आगो लागेपछि छोरी र बुहारीबाहेक कसैले पनि पत्तो नपाएको पैसा थन्क्याएको ठाउँ नै जल्यो, जलेन मात्रै, कसरी देश लुटेर पैसा राखिएको रहेछ भन्ने तथ्य पनि दुनियाँले जानकारी पायो,’ प्रचण्डप्रति सङ्केत गर्दै बस्नेतले भन्नभयो ।
उहाँले केपी ओलीको विरुद्धमा लागेका समूह अव पनि यसै गरी लागिरहने हो भने जस्ताको तस्तै जवाफ फर्काउने बेला आएको बताउनु भयो । अरूले त गरे–गरे, एमालेकै पदाधिकारी पनि केपी ओलीकै विरोधमा अलकत्रा ओकल्ने कुराचाहिँ निकै आश्चर्यजनक रहेको बस्नेतले बताउनु भयो । एमालेमा अहिलेको धरातलीय यथार्थले ‘ओलीको विकल्प ओली’ मात्रै रहेको देखाइसकेको भन्दै बस्नेतले अव आफै पुरिने खाल्डो आफै खन्ने मूर्खता छाडन एमालेकै पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मका नेताहरूलाई सुझाव दिनुभयो ।
‘चालको नियम भन्ने पढिएको छ नि, ‘थर्ड ल अफ मोशन’ अर्थात् चालको तेस्रो नियमले भन्छ, ‘हरेक क्रियामा बरावर तर विपरीत प्रतिक्रिया हुन्छ’ भनेर । अहिलेसम्म सबै चुपै बसे, किन छुच्चो हुने भन्दै बसे तर अव बस्दैनन् भन्ने सच्चाइबारे जानकार हो कि होइन ?’ बस्नेतको भनाई थियो । केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन र देशको स्वाभिमान उच्चो पार्नेसहित गरिएको विकासको कामकै कारण विभिन्न कोणबाट आक्रमण हुने गरेकोले पनि उहाँको भनाई थियो । उहाँले अव पनि केपी ओलीको विरुद्धमा लाग्नेहरू पार्टीभित्र होस कि बाहिर होस, थप अगाडि बढ्न नसक्ने तथ्यलाई पनि राख्नुभयो ।
‘अब पर्दा खुलिसक्यो, फिल्म सकिसक्यो, आगो लगाउनेको पत्तो भइसक्यो । नेपाली हुन कि विदेशीका मतियार भन्ने पनि खुलिसक्यो । फिल्म सबै हेरिसकियो । अव पनि नायकलाई खलनायक अनि खलनायकहरूलाई नायक भनेर कोही बस्छ भने त्यस्तालाई आफै सकिन्छन् । अरूलाई सिद्ध्याउन खोज्नेहरू आफू पनि बच्दैनन्, सिद्धिन्छन्,’ बस्नेतले भन्नुभयो । यस्तै निवर्तमान अध्यक्ष बस्नेतले नेपाल पत्रकार महासंघ लोकतन्त्र र संविधानको रक्षामा कहींकतै चुक्न नहुनेमा जोड दिनुभयो भने पत्रकार महासंघमा पठाइएका व्यक्तिहरूले संगठनमा नियमित सम्पर्कमा रहेर काम गर्न सुझाउनु भयो ।
सो बैठकमा प्रेस चौतारीका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा भन्दै केपी ओलीका विकल्प खोज्न किन हुन्न भन्नेमा संगठनले नेतृत्व गरेको जानकारी दिनुभयो । अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै लामाले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह पनि गर्नुभयो।







प्रतिक्रिया