जाजरकोट-नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताउनुभएको छ।
जाजरकोटको सदरमुकाम खलङ्गामा शनिबार आयोजित बृहत् जनसभामा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाउनुभयो।
नेता आचार्य निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताउनुभयो। तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा बिगार्नेतिर बढी गएको उहाँको भनाई छ ।
संसद् पुनर्स्थापना लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम भएको जिकिर गर्दै उहाँले जनतासँग मिलेर वर्तमान राजनीतिक संकट अन्त्य गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभयो।
नेता आचार्य भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई ‘स्वतःस्फूर्त युवाको अभिव्यक्ति’ नभइ, योजनाबद्ध रूपमा हाइज्याक गरिएको हिंसात्मक आक्रमण गरिएको बताउनुभयो ।
नेता आचार्य एमालेले अघि सारेको वर्तमान जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रविरुद्ध संविधान, लोकतन्त्र र जनताको पक्षमा पुनः उभिन खोजिएको अभियानका रूपमा परिभाषित गर्दै देश अस्थिर बनाउन खोज्ने शक्तिहरू सक्रिय रहेको आरोप लगाउनुभयो।
नेता आचार्यका अनुसार जेनजी आन्दोलनले नेपाली राजनीतिक संरचना, सामाजिक सम्बन्ध र शासन प्रणालीमै गम्भीर प्रभाव पारेको छ। पश्चिमी मुलुकबाट थोपारिएको ‘ जेनजी’ शब्द नै नेपाली समाजको उमेर–वर्गीकरणसँग मेल नखाने अवधारणा भएको उल्लेख गर्दै उनले सो नामले युवालाई अलग मानसिक वर्गको रूपमा उभ्याइ मनोवैज्ञानिक दूरी बढाउने काम भएको दाबी गर्नुभयो।
काठमाडौँमा भएको आगजनी, तोडफोड र सरकारी–निजी सम्पत्तिमाथि भएको आक्रमण साधारण असन्तुष्ट युवाको कदम नभई ‘विशेष तयारी, रणनीति, रासायनिक प्रयोग र भूराजनीतिक संलग्नता’को परिणाम भएको आचार्यको तर्क छ। युवाको जायज माग सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल स्वतन्त्रता एमालेले सम्मान गर्ने स्पष्ट पार्दै उहाँले त्यही मागलाई दुरुपयोग गर्दै स्वार्थी तत्त्व र बाह्य प्रभावले आन्दोलनलाई हिंसात्मक मोड दिएको आरोप लगाउनुभयो।
प्रतिनिधि सभा विघटन, सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोधबारे टिप्पणी गर्दै आचार्यले अहिलेको सत्ता संरचनालाई संविधानले नचिनेको दाबी गर्नुभयो। प्रतिनिधि सभा विघटन लोकतान्त्रिक संरचना कमजोर पार्ने प्रयास भएको उहाँले बताउनुभयो।
काठमाडौँमा मंसिर ६ गते तय गरिएको विशाल जनसभाले नागरिकको खस्किएको मनोबल पुनः उठाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।







प्रतिक्रिया