अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमा बसेकाहरू नै जेनजीका नाममा कलाविहीन नाटक देखाउँदैछन्: अध्यक्ष ओली

सरकारमा बसेकाहरू नै जेनजीका नाममा कलाविहीन नाटक देखाउँदैछन्: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गर्नुभएको छ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उहाँको भनाइ छ। त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको जिकिर गर्नुभयो। वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उहाँको टिप्पणी छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने खेलमा लागेको छ। त्यसका निम्ति जेन जेडहरूलाई संगठित गर्ने, जेनजीहरूका माग पत्र लेखिदिने, उनीहरूलाई बोलाएर माग पत्र पढाउने, हातमा माग पत्र थमाउने, जेन जेडको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौँ ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ। जेन-जीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ। मलाई थाहा छ त्यो जेन जेडको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ। बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा अविलम्ब पुनर्स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताउनुभयो। अहिले पनि जेन जेड भनेर १ ० र २० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको अध्यक्ष ओलीले आरोप लगाउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरूमा आवेश र उत्तेजना मात्र छ। गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन। ड्रामातिर लागेको छ।’

अध्यक्ष ओलीले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्देश्यमा कमी आउने छैन भनी जवाफ दिनुभयो।