काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याउनु भएको छ। मुख्यमन्त्री बानियाँले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो।
आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताउनुभएको हो।
‘संविधान संशोधन गर्नुपर्छ। यस अर्थमा शासकीय स्वरुप, निर्वाचन प्रणाली विभिन्न कुराहरु उठेका छन्। त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकाश दिनुपर्छ। साथै अब आउने निर्वाचनमा हालका सबै विषयमा खुलेर मनमा कुण्ठा नराखिकन देश र जनताको पक्षमा काम गर्न चाहान्छौ,’ मुख्यमन्त्री बानियाँले भन्नुभयो।
मुख्यमन्त्री बानियाँले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए पनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताउनुभयो। उहाँले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताउनुभयो।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए तर जतनाको अवस्था परिवर्तन नभएको व्यवस्था मात्र परिवर्तन भय । यो अवस्था परिवर्तन गर्न नेतृत्वभित्र मन, वचन, कर्म शुद्ध भएर जनताको सोझौ चिताएर निष्ठावान भएर सपथ खाए जसरी काम गर्नुपर्छ संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थमा प्रतिनिधि पात्र परिवर्तित हुन्छन्। यो व्यवस्था भित्र चित्त बुझेन भने मन लागेको व्यक्ति, दल बदल्न सकिन्छ यो भन्दा उत्तम व्यवस्था अरु छैन।’
हालको संविधानले सबै धर्म, संस्कृति, सस्कार र सबै वर्ग, समुदायलाई समेटेको उहाँको भनाई छ ।







प्रतिक्रिया