अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनले देशलाई दशकौँ पछाडि धकेल्यो: शंकर पोखरेल

जेनजी आन्दोलनले देशलाई दशकौँ पछाडि धकेल्यो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुकलाई एक दशक पछाडि धकेलेको टिप्पणी गर्नुभएको छ।

सोमबार ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको सम्मानमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा महासचिव पोखरेलले जेनजीका नाममा स्वार्थी समूहले भीषण अवस्था सिर्जना गरेको बताउनुभएको हो।

‘माग उठाउने प्रस्तोता थिएनन्, वार्ता गर्ने कोही थिएन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नवयुवाहरूको भावनामा खेल्ने स्वार्थी समूहका कारण भीषण अवस्था सिर्जना भयो।’

महासचिव पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनले खर्बौं रुपैयाँको धन-सम्पत्तिको क्षति गरेको पनि बताउनुभयो। जुन १० वर्षे सशस्त्र द्वन्द्वको क्षतिभन्दा ठूलो भएको उहाँको भनाइ छ।

महासचिव पोखरेलले अहिलेको सत्ता व्यवस्थापनले यसै अवस्थालाई गर्वको रूपमा प्रस्तुत गरिरहेको आरोप लगाउनुभयो।  ‘सबैभन्दा ठूलो प्रहार राज्यको अस्मितामै पर्‍यो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपाल प्रहरीलाई कमजोर बनाइयो, संरचना तहसनहस पारियो, सुरक्षाका हतियार र सामग्री लुटपाट भयो, सार्वजनिकरूपमा सुरक्षा निकायलाई बेइज्जत गरियो।’