अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको विराटनगर महानगर कमिटी एमालेमा समाहित

नेकपा एसको विराटनगर महानगर कमिटी एमालेमा समाहित


विराटनगर-नेकपा एकीकृत समाजवादी (एस) विराटनगर महानगर कमिटी नेकपा एमालेमा समाहित भएको छ। आज विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एसको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो।

एमालेले केन्द्रीय स्तरमा विभिन्न समयमा पार्टी परित्याग गरि अन्य राजनीतिक दलमा गएका नेता-कार्यकर्तालाई पुन: पार्टीमा सक्रिय गराउने उद्देश्यले संचालित घर फर्क राष्ट्रिय अभियान अन्तर्गत एसका नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले बताउनुभयो।

नेता घिमिरेले एसको विराटनगर महानगर कमिटी सहित कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरू समेत पुन:एमालेमा समाहित भएको जानकारी दिनुभयो।

एमालेमा समाहित हुनुभएका नेकपा एसका कोशी प्रदेश कमिटी सचिवालय सदस्य डा. उद्धव पोखरेलले एमाले आफूहरूको समेत रगत र पसिना परेको घर भएकोले केही समय घर बाहिर रहे पनि पुन: घरमा नै फर्किएको बताउनुभयो। उहाँले आफूहरू केही समय पार्टीसँग रिसाएर पार्टी बाहिर रहेपनि पुन: नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारमा समाहित हुन पाउँदा खुसी लागेको बताउनु भएको थियो।  

पार्टीमा समाहित भएकालाई स्वागत गर्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय खट्नु भएका नेताहरू पुन: पार्टीमा आउँदा पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो। खतिवडाले अहिलेको परिदृश्यमा देशमा लोकतन्त्रलाई बलियो पार्न एमाले बाहेकको विकल्प नरहेको प्रष्ट पार्नुभएको थियो।

घर फर्क अभियान अन्तर्गत एसको प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सिंगो महानगर कमिटी गरेर झन्डै ८० भन्दा बढी नेताहरू एमालेमा समाहित भएको एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो। गिरीले एमालेको केन्द्रीय महाधिवेशन अघि एसको मोरङका अन्य पालिका कमिटी समेत एमालेमा समाहित भएको बताउनुभयो।