अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नियमित नभए केन्द्रीय समितिले विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्छ: शेखर कोइराला

नियमित नभए केन्द्रीय समितिले विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्छ: शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्नेमा जोड दिनुभएको छ।

आज बिहान पार्टीका युवाहरूसँगको भेटमा आफूले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने कुरा राख्दै आइरहेको बताउनुभएको हो। उहाँले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो।

‘मैले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनिरहेकै छु। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन्। मेरो कुरा अहिले पनि त्यही छ- मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं’, उहाँले भन्नुभयो।

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशनमा जानुपर्ने नेता कोइरालाको भनाइ छ।

तर विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गरेरभन्दा पनि केन्द्रीय समितिबाट नै सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने नेता कोइरालाले बताउनुभयो।

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने वा विशेष महाधिवेशन गर्ने कि नगर्नेजस्ता विवाद छन्। असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिए पनि सर्वसम्मत रूपमा निर्णय लिन भन्दै अहिले केन्द्रीय समिति बैठक स्थगित छ। मंसिर ४ गते दिउँसो २ बजेसम्म केन्द्रीय समिति बैठक स्थगित छ।