काठमाडौं- हिंसात्मक अभिव्यक्ति दिएका आरोपमा गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको दाबी गर्नुभयो।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन्। प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए। सोही अनुसार तयारी पनि तीव्र पारेका थिए। तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।







प्रतिक्रिया