काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुन:स्थापनाको विकल्प नभएको बताउनु भएको छ।
नेकपा एमालेको विघटित संसदीय दलको बैठकलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्नुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ, अग्रगामी हुन्छ, संविधान र लोकतन्त्रको पक्षमा हुन्छ। सबैको जीउधनको रक्षाको पक्षमा हुनेछ। भय, त्रास सिर्जना गर्न र लुटपाट गर्नको लागि होइन ।’
अध्यक्ष ओलीले आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्नुभयो। अध्यक्ष ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरू तयार हुन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी,तोडफोड र लुटपाटबाट आएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियाने योजनाबद्ध रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा उत्रिएर बिध्वंशको योजना बनाएको आरोप समेत लगाउनुभयो।







प्रतिक्रिया