काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले २०८२ भदौ २३ र २४ का घटना नियोजित रूपमा गराएर देश प्रतिगमनको गम्भीर चक्रमा फसिरहेको टिप्पणी गर्नुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भदौ २३ र २४ गतेको घटनालाई ‘सिरानी हालेर’ अघि बढाइएको राजनीतिक हस्तक्षेपले अस्थिरता, संवैधानिक विपथन र सत्ता कब्जाको प्रयोजन स्पष्ट पारेको बताउनुभयो।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘भदौ २३ र २४ को घटनालाई सिरानी हालेर देशमा प्रतिगमन भएको छ। भदौ २३ र २४ का घटनाबाट संविधानमाथि प्रत्यक्ष आक्रमण भयो । संविधानलाई नै घाइते बनाइयो, यस्तो प्रतिक्रियावादी गतिविधिलाई सामान्य ठान्न मिल्दैन, देशलाई प्रतिगमनतर्फ धकेलिएको छ र यसका विरुद्ध दृढतापूर्वक उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो।’
नेता पौडेलले एमालेले उठाइरहेको प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि यही प्रतिगमनविरुद्धको सङ्घर्षसँग जोडिएको स्पष्ट पार्नुभयो। संविधान विपरीत गरिएको कदमलाई वैधता दिन खोज्ने प्रयास सफल हुन नदिन जनतामाझ गएर दललाई सुदृढ बनाउनु पर्ने उहाँको भनाइ थियो।
उहाँले एमालेविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहे पनि त्यो कुनै नयाँ कुरा नहुने उल्लेख गर्दै, ‘एमालेले आफ्ना सिद्धान्त, कार्यदिशा र जनताप्रतिको उत्तरदायित्वका आधारमा यी सबै चुनौती चिर्दै अघि बढ्न सक्छ र अवश्य नै अघि बढ्छ,’ भन्नुभयो।
राजनीतिमा देखिएका पछिल्ला उथलपुथलका प्रसङ्ग समेट्दै उहाँले अहिले एमालेले सुरु गरेकाे आन्दोलनलाई देशको स्वाभिमान रक्षा गर्ने अभियानका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार संविधानको सम्मान, राजनीतिक स्थिरता र राष्ट्रिय हितको संरक्षणका लागि जनताको साथमा दृढतापूर्वक संघर्ष गर्नु एमालेको प्राथमिक कार्य हो।
उपाध्यक्ष पौडेलले वर्तमान राजनीतिक अवस्था सामान्य देखिए पनि भित्री रूपमा गम्भीर सङ्कट लुकेको बताउँदै देशलाई संवैधानिक व्यवस्था बाहिर धकेल्ने कुनै पनि प्रयोजनलाई रोक्नु ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले दलभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशासहित आन्दोलनलाई बलियो बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।







प्रतिक्रिया