अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामकुमारी झाँक्रीको प्रश्न: खोसिएका बन्दुक र भागेका कैदीको जिम्मा कसले लिन्छ र चुनाव हुन्छ ? 

रामकुमारी झाँक्रीको प्रश्न: खोसिएका बन्दुक र भागेका कैदीको जिम्मा कसले लिन्छ र चुनाव हुन्छ ? 


काठमाडौं-नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्तालाई पार्टीमा कसरी जोड्ने र टिकाउने भन्ने कुरा सोच्नु पर्ने बेला आएको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले अहिलेको प्रविधि र सिप सिकेको युवालाई पार्टीमा उचित स्थान दिएर परिचालन गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले हिजो पनि युवाकै जगमा उभिएको पार्टी भएको पनि उहाँले प्रष्ट पार्नुभयो। ‘हिजो हाइस्कुलको ड्रेसमा गएर पार्टी बनाएको हो नि त, जब ती हुटहुटी भएका मानिसलाई पार्टीमा भर्ती गरिँदैन यो स्थिति त अनिवार्य छ नि, अब तिनीहरूलाई ल्याउने हो, त्यो एमालेले नै ल्याउने हो’, उहाँले भन्नुभयो।

कात्तिक २९ गतेको प्रदर्शन मार्फत एमालेले देशैभरि आफ्नो शक्ति देखाएको उहाँले बताउनुभयो । ‘२९ गते सामान्य हिसाबले भन्दा पनि ७७ जिल्लाबाट ५ लाख मानिस निस्किए, त्यो परिवारमा ४ जना छन् भने त्यो २० लाख मान्छेको शक्ति हो’, उहाँले भन्नुभयो ।

अहिले निर्वाचन गर्ने स्थिति नभएको उहाँले बताउनुभयो। हतियार र कैदीहरू बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो। ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ ? ती सबैलाई थाती राखेर चुनाव गर्ने भन्ने हो भने हामीले के स्टेटमेन्ट दिने हो हामी गरौँला’, उहाँले भन्नुभयो ।

आफू विगतको संसद् पुनर्स्थापनाको रिट निवेदक भएको स्मरण गराउँदै उहाँले स्थायित्वको लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने बताउनुभयो । आफू यही एजेण्डा बोकेको कारण हिजो एमाले छाड्नु पर्ने स्थितिमा सम्म पुगेको उहाँले सुनाउनुभयो ।

अहिले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगले प्रतिशोधपूर्ण व्यवहार सुरु गरेको बताउनुभयो। राजनीतिक दलका नेताहरूलाई निर्वाचनमा भाग लिनै नदिने गरी आयोग र सकार लागेको उहाँले बताउनुभयो।

नेपालको संविधान ध्वस्त गर्ने, अखण्ड र अक्ष्युण नेपालको इतिहास ध्वस्त गर्ने मानिसहरूको डिजाइन अनुसार भदौ २३ र २४ को घटना भएको उहाँले बताउनुभयो। त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने र त्यो अदालतले गर्ने उहाँले दाबी गर्नुभयो।

यो पार्टीको मात्र विषय नभएर नेपाली नागरिक र देशको विषय भएको उहाँले बताउनुभयो । एमाले त्यही मुद्दा बोकेर एमाले हिँडेको उहाँको भनाइ छ।