अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र विपक्षी दलहरू एमालेसँग आत्तिए: महेश बस्नेत 

सरकार र विपक्षी दलहरू एमालेसँग आत्तिए: महेश बस्नेत 


काठमाडौँ- बारमा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेनजी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि काठमाडौंमै रोकिनु परेका नेकपा एमालेका नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताउनुभएको छ।

राष्ट्रिय  युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लाग्नुभएका नेता बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गर्नुभयो। तर पनि कार्यक्रम अवरुद्ध नभएको उहाँले बताउनुभयो ।

‘विमान स्थल क्लोज गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगाएर हामीलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका सबै नेता अहिले कार्यक्रम स्थलमै उपस्थित छन्, कार्यक्रम सुरु भएको छ,’ बस्नेतले सामाजिक सञ्जालमा कार्यक्रमको लाइभ भिडियो राख्दै लेख्नुभएको छ।

बारमा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेनजी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि काठमाडौंमै रोकिएपछि नेता बस्नेतले सरकारप्रति कटाक्ष गर्नुभएको हो।

उहाँका अनुसार सो कार्यक्रममा आजै माओवादी र मधेसवादी दलका ठूला सङ्ख्यामा नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी छ। बस्नेतले सरकारको यस्तो ‘रवैया’का विरुद्ध एमाले युवा संगठनले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिनुभएको छ। ‘हामी स्वयं आउन नसके पनि कार्यक्रम अवश्य हुन्छ, सबै युवाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछौँ,’ उहाँले भन्नुभयो।

बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि नेकपा (एमाले) नेता बस्नेतले सरकारप्रति कटाक्ष गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नका लागि जेनजीको नाममा अराजक भिड उतारेको नेता बस्नेतले आरोप लगाउनुभयो।

सभा हुन नदिन जेनजीको नाममा विभिन्न दल–आवद्ध समूहलाई सडकमा उतारेर विमानस्थल अवरोध गराइएको र ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक रूपले गलत कार्य भएको नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत बताउनुभएको छ। 

नेता बस्नेतले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप लगाउनुभयो।

नेता बस्नेतले कर्फ्युको निर्णयलाई सरकारको कमजोरी र उद्देश्यमाथि प्रश्न उठाउने कदम भएको उल्लेख गर्दै नेता बस्नेतले भन्नुभएको छ, ‘हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुने छैनौँ।’

नेता बस्नेतले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबी नै हास्यास्पद देखिएको टिप्पणी गर्दै वर्तमान शासनप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा उनीहरूको संघर्ष निरन्तर जारी रहने बताउनुभयो।

नेता बस्नेतसहितका नेता बाराको कार्यमक्रममा जान लागेको सूचनापछि जेनजीले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने बस्नेत काठमाडौँमै रोकिएका छन् ।