अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ: अध्यक्ष ओली 

देशमा केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ: अध्यक्ष ओली 


काठमाडौं–नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ।

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शान्ति सुरक्षा र सुशासनको पक्षमा जस्तोसुकै जटिल परिस्थितिको सामना गरेर पनि जनप्रतिनिधिले काम गर्नै पर्ने बताउनुभएको हो। ‘अरूले के गर्छन् त्यो अलग कुरा भयो, तर हामीले स्वच्छ ढङ्गले काम गर्नुपर्छ, जनतालाई छिटो, छरितो र बिना भेदभाव सेवा सुविधा दिनु पर्छ’, अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले अहिलेको सरकार हा हु कै सरकार भएको दोहोर्‍याउनुभयो । विगतमा मुखिया छान्दा पनि गाउँले बसेर छान्ने गरेका बताउँदै उहाँले अहिले मुखिया र मुखिनी कहाँबाट आए भन्ने समेत थाहा नभएको अध्यक्ष ओलीले बताउनुभयो।

‘अहिले केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ। एमालेलाई ५०/६० जनाले तर्साउन खोज्दै छन्। एमालेलाई कोही फोन गर्छ- म जेनजी हुँ’ भनेर। अस्ति आगो लगाएको देख्यौँ। यिनलाई रोक्न कसैको ध्यान जाँदैन। आगो त निर्बाध छाडिदिए पछि ५०/६० जनाले सिंहदरबार नै जलाए नि’, अध्यक्ष ओलीले भन्नुभयो’, ‘आगो लगाउनेहरूलाई रोक्ने कोही भएन। रोक्ने कोही भएको भए ५०-६० जनाले सिंहदरबार जलाउन सक्दैनथे। रोक्ने संयन्त्र नचलेपछि देशमा जे पनि हुन्छ भन्ने स्थितिको विकास भइरहेको छ।’

अहिलेको सकार कसले बनायो भन्ने थाहा नभएको उहाँले बताउनुभयो । यो सरकारको टेक्ने र झुण्डिने ठाउँ नभएको उहाँले सुनाउनुभयो । ‘तै पनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाक-धम्की छ’, उहाँले भन्नुभयो ।