काठमाडौं-नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका आफ्ना कर्तुत लुकाउन दुर्गा प्रसाईँलाई पक्राउ गरेको बताउनुभएको छ।
बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा पार्टी कार्यालय च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताउनुभयो।
राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उहाँलाई थुनिराख्न नमिल्ने अध्यक्ष ओलीले बताउनुभयो।
दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै उहाँले दुर्गाप्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो । प्रश्नको जवाफ थुनेर नहुने अध्यक्ष ओलीले बताउनुभयो।
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘म सरकारलाई भन्न चाहन्छु-दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस्। बोल्नै नपाईने पनि हुन्छ। मानव अधिकार आयोगले भनिसकेको छ- बोले बापत नै थुन्न मानव अधिकारको उल्लंघन हो। सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ। त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफतार गर्नुहुँदैन। कसलाई को मन पर्छ, कसलाई को मन पर्छ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त। अपराधमा पो थुन्ने हो त। अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो?’






प्रतिक्रिया