काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारामा विमानस्थलम तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूहलाई ‘जेनजी’का नाममा पहिचान गर्न खोजिए पनि उनीहरू वास्तविकतामा अपराधी, असामाजिक र राष्ट्र विरोधी भएको टिप्पणी गर्नुभएको छ।
बुधबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्याएको बताउनुभयो। ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन्, अन्तर्राष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ अध्यक्ष ओलीले आक्रोश पोख्नुभयो।
अध्यक्ष ओलीले मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ’ भन्ने देखाइने उल्लेख गर्दै पछिल्लो समय लुटपाट, तोडफोड र आगजनीमै सीमित र्यालीहरूको अस्वाभाविकता बढ्दै गएको टिप्पणी गर्नुभयो।
राष्ट्रिय झण्डा फहराउने प्रतीक भएको बताउँदै उहाँले अपराध गर्ने समूहहरूले झण्डालाई ओढेर दुरुपयोग गरेको बताउनुभयो। झण्डा उनीहरूले आफ्नो पहिचानका लागि ओढेका अध्यक्ष ओलीको भनाइ छ।
पार्टीभित्रको अनुशासन र ऐक्यबद्धताको सन्दर्भमा उहाँले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो। ‘केही साथीहरू अहिले विरोधीको लहैलहैमा लागेर अन्तरसंघर्ष भन्छन्, के हो अन्तरसंघर्ष भनेको ?’ अध्यक्ष ओलीले चेतावनी दिनुभयो।
देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गर्नुभयो। ‘वृद्धाश्रम बनाएर पार्टी चल्दैन,’ अध्यक्ष ओलीले व्यङ्ग्य गर्दै भन्नुभयो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति टिप्पणी गर्दै उहाँले ‘प्रचण्डका साथीहरू नै अहिले उहाँलाई घेरेर सिद्ध्याउने’ भन्दै वर्तमान राजनीतिक परिस्थितिमा सतर्क रहन आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष ओलीले राजनीतिक दौडमा नचिप्लन नेताहरूलाई आग्रह गर्नुभयो। देश निर्माणको जिम्मेवारी सबैले आफ्नै पुस्ताकै हातले वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।






प्रतिक्रिया