काठमाडौं- नेकपा एमालेले ११औं महाधिवेशनका प्रतिनिधि छनौटका लागि १७ जना नेतालाई जिम्मेवारी दिएको छ। संगठन विभागको केही दिन अघि बसेको बैठकले प्रतिनिधि छनौटका विविध मापदण्ड तय गर्दै त्यसको समन्वयका लागि स्थायी कमिटी,पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएको छ। सो बैठक पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको थियो।
संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार विभिन्न भूगोल र गैह्र भौगोलिक क्षेत्रमा प्रतिनिधि छनौटका क्रममा आउन सक्ने समस्यालाई समाधान गर्न र पार्टी केन्द्रसँग समन्व गर्नका लागि १७ जना नेतालाई क्षेत्र नै तोकेर जिम्मेवारी दिइएको हो।
संगठन विभागले दिएको जिम्मेवारी अनुसार स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जनसंगठन र सम्पर्क समन्वयका प्रतिनिधि छनौटको समन्वय गर्न जिम्मेवारी दिइएको छ। स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईलाई भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, सुनसरी, मोरङ र झापाको जिम्मेवारी दिइएको छ। पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गाका प्रतिनिधि छनौटको समन्वय गर्ने जिम्मेवारी दिइएको छ। यस्तै, पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेललाई सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही गरी पाँचवटा जिल्लाको जिम्मेवारी दिइएको छ। पोलिटव्यूरो सदस्य ज्वाला कुमारी साह लाई रौतहट, बारा र पर्साको जिम्मेवारी तोकिएको छ।
पोलिटव्यूरो सदस्य आनन्द पोख्रेललाई काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन गरी सातवटा जिल्लाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य गणेश पहाडीलाई सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर गरी छ वटा जिल्लाको प्रतिनिधि छनौटको समन्वय गर्नलाई संगठन विभागले जिम्मेवारी दिएको सचिव ढुंगेलले जानकारी दिनुभयो। यस्तै पोलिटव्यूरो सदस्य सुजिता शाक्यलाई उपत्यका विशेष प्रदेश अन्तरगतका जिल्ला कमिटीहरुको प्रतिनिधि छनौटमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य सम्झना देवकोटालाई गोरखा, लमजुङ, तनहुँ, मनाङ र नवलपुरको प्रतिनिधि छनौटको समन्वयकर्ताको जिम्मेवारी छ।
यसैगरी केन्द्रीय सदस्य गोविन्द नेपालीलाई बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी जिल्लाका प्रतिनिधि छनौटका लागि जिम्मेवारी तोकिएको छ। केन्द्रीय सदस्य लीला गिरीलाई रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम) र गुल्मीको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य जीवन गौतम– दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पाको जिम्मा दिइएको छ। पोलिटव्यूरो सदस्य लक्ष्मी पोख्रेललाई कर्णाली प्रदेशका सबै १० वटै जिल्लाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यहरु लालबहादुर थापालाई दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाममा प्रतिनिधि छनौट गर्ने जिम्मेवारी तोकिएको छ। यस्तै, लीला भण्डारीलाई कैलाली र कञ्चनपुरको जिम्मा छ। केन्द्रीय सदस्य एवं संगठन विभागका सचिव माधव ढुंगेललाई केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरूबाट छनौट हुने प्रतिनिधिका समन्वय गर्न भनिएको छ।
स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासमा प्रतिनिधि छनौट गर्ने जिम्मेवारी दिइएको छ।







प्रतिक्रिया