अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ : महासचिव पोखरेल

एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ : महासचिव पोखरेल



काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किएको बताउनुभएको छ । नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो पछिल्ला राजनीतिक विवाद, न्यायिक अशान्ति र सरकारप्रति बढ्दो असन्तुष्टिमा अल्झिरहेको मुलुक एमालेकै सक्रियताले पुनः सही दिशातर्फ फर्किदै छ ।
राज्य कमजोर बन्न थालेको अवस्थामा एमालेद्वारा देशव्यापी आयोजित कार्यक्रमहरूले अवस्थालाई सम्हाल्न सफल भन्दै महासचिव पोखरेलले आगामी दिनमा यो भूमिका बढाइने बताउनुभयो ।

भदौ २३ र २४ मा भएका तोडफोड तथा विध्वंसकारी गतिविधि व्यापक बन्दै जाँदा एमालेका कार्यक्रमहरूले ती घटनालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले पछिल्ला दिनहरूमा जनतामा देखिएको त्रास र अनिश्चितताको वातावरण कम हुनुमा पनि पार्टीको सक्रियता प्रभावकारी रूपमा देखिएको दाबी गर्नुभयो ।

उहाँले मुलुकमा दलविहीनता, असंवैधानिक अभ्यास र संविधान समाप्त पार्ने प्रवृत्ति देखिनु चिन्ताजनक भन्दै संविधान नमान्ने व्यक्तिबाट कानुनी राज्य स्थापना नहुने टिप्पणी गर्नुभयो ।

संविधानले जनताबाट निर्वाचित प्रतिनिधिले मात्र शासन गर्ने व्यवस्था स्पष्ट रूपमा ग्यारेन्टि गरेको भए पनि पछिल्ला गतिविधिले संवैधानिक मर्यादालाई चुनौती दिएको महासचिव पोखरेलको भनाइ थियो ।

जेनजी आन्दोलनलाई मुलुकको अस्थिरता चाहने शक्तिहरूले ‘प्रयोग’ गरेको भन्दै पोखरेलले भविष्यमा यस्ता घटना नदोहोरिउन् भनेर सबै जिम्मेवार पक्षहरू सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

राज्य कमजोर भइरहेका बेला नागरिकलाई सुरक्षित राख्न र राज्यलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक दस्ता गठन गरिएको र यस संरचनालाई टोलटोलसम्म विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा निर्माण व्यवसायीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सबै निर्माण व्यवसायीलाई एकताबद्ध भएर विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँले मङ्सिर २७ गते काठमाडौँमा हुने पार्टीको एघारौँ महाधिवेशन उद्घाटन कार्यक्रममा ऐतिहासिक उपस्थिति रहने पनि बताउनुभयो ।

परिषदका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज रचना खड्का, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज भागीरथ सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघका सहइञ्चार्ज चिरञ्जीवी पोखरेललगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का महासचिव रामशरण देउजाले गर्नु भएको थियो ।