काठमाडौं-नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभएको छ।
आज (मंसिर ७ गते) विराटनगर विमानस्थलबाट बाहिरिएर नेकपा एमाले निकट युवा संघ नेपालको कार्यक्रमका लागि सुनसरी जान लाग्दा आफू सवार गाडीमाथि रातो मसी छ्यापिएको घटनालाई नेता बस्नेतले ‘गम्भीर र निन्दनीय’ सामाजिक सञ्जालमार्फत भन्नुभएको छ।
नेता बस्नेतले शान्तिपूर्ण सभा, जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनु सबै नागरिकको अधिकार भएको बताउनुभएको छ। ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ,’ नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।’
उक्त कार्यमा संलग्न युवकलाई प्रहरीले नियन्त्रणमा लिएकोमा नेता बस्नेतले प्रहरीको तत्परताप्रति ‘धन्यवाद’ दिनुभएको छ।
‘हिंसा होइन–विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ,’ नेता बस्नेतले भन्नुभएको छ, ‘अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।’ आफूमाथिको आक्रमण प्रयास र बाधाबीच युवा संघ कोसी प्रदेशको जागरणसभा सुरु हुन लागेको नेता बस्नेतले उल्लेख गर्नुभएको छ।
नेता बस्नेत विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ जाँदै गरेको सवार गाडीमा रातो रङ प्रहार गरेको थियो । रंग छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।







प्रतिक्रिया