काठमाडौँ-जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा लागेको बताउनुभएको छ।
राष्ट्रिय सभा गृहमा आइतबार पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्षित गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो।
‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ। जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, नेता शर्माले भन्नुभयो, ‘माओवादीले करिब १७ वर्ष सत्ता चलाए। दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए। ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन । दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ।’
नेता शर्माले सामन्तवादको सियासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताउनुभयो।
शर्माको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो।
गत कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वटा वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएपछि प्रचण्डबाट अलग हुँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए भने रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन नसकिएको भन्दै कात्तिक २८ गते सन्तोष परियारले पार्टी छाडेका थिए।







प्रतिक्रिया