कास्की-भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।
सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो ।
हालसम्म ५६ जना पक्राउ परिसकेका र धेरैलाई उपद्रव कसुरमा अनुसन्धान गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘हामीले खोजीखोजी पक्राउ गरिरहेका छौँ । अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ, नभए रिहा हुन्छन्,’ उहाँले भन्नुभयो, ‘शंकास्पद नभएका व्यक्तिहरू पक्राउ परेका छैनन् । कुनै न कुनै गतिविधिमा संलग्न भएको पुष्टि भएपछि फोटो वा भिडियोको प्रमाणका आधारमा मात्रै पक्राउ परेका छन्।’
पक्राउ परेकामध्ये ३६ जनामाथि अनुसन्धान अघि बढेको डीएसपी बस्नेतले जानकारी दिनुभयो । ‘अदालतको आदेशले केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएको छ । एकजनालाई बाल सुधार गृह पठाइएको छ,’ डीएसपी बस्नेतले भन्नुभयो, ‘तत्कालीन आन्दोलनका क्रममा गलत गर्नेहरू पक्राउ पर्दै जान्छन् । हामीले विशेष टिम परिचालन गरेका छौँ ।’ जेनजी आन्दोलनको पहिलो दिन २३ गते शान्तिपूर्ण भएपनि दोस्रो दिन अर्थात् २४ गते ध्वंसात्मक घटना भएको थियो । उक्त घटनाको भिडियो र फोटोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । प्रहरीले पनि आरोप पुष्टि हुने प्रमाणहरू प्रहरीलाई बुझाउन पटक पटक आग्रह गरेको छ ।’







प्रतिक्रिया