काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक धक्का हुने बताउनुभएको छ।
११ औं महाधिवेशन प्रचार समितिको आजको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले विभिन्न तहका जनपरिचालन, जनप्रदर्शन तथा जनसभाहरूबाट पार्टी प्रतिगामी कदमको सशक्त विरोध गरिसकेको उल्लेख गर्नुभयो।
उपमहासचिव ज्ञवालीले एमालेको नीति, महाधिवेशन र नेतृत्व विरुद्ध यही मौकामा अनेक प्रहार हुन सक्ने भएकोले त्यसप्रति सचेत रहनु पर्ने बताउनुभयो। ‘महाधिवेशनको सम्मुखमा पार्टीको नीति र नेतृत्वप्रति धेरै प्रकारका अफवाहहरू फैलाउन सक्छन्’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ‘यस सन्दर्भमा पार्टीको प्रचार संयन्त्र चनाखो हुनुपर्दछ।’
कतिपय सन्दर्भमा जेन जीको विरोधी एमाले भन्ने भाष्य बनाउन एकथरी शक्ति लागिरहेकोले त्यसको वास्तविकता पनि बाहिर ल्याउनु पर्ने उहाँको भनाइ छ। उपमहासचिव ज्ञवालीले एमाले युवा मैत्री पार्टी भएकोले त्यो भाष्य समाजमा स्थापित हुनुपर्ने बताउनुभयो।
पार्टीको ११ औं महाधिवेशनपछि एमाले झनै बलियो हुने विश्वास गरिएको उहाँको भनाइ छ। ‘महाधिवेशनसँगै एमाले झनै बलियो हुन्छ । एमाले र एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम नै एमाले बलियो हुने जग हुन्।’







प्रतिक्रिया