काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशन सफल पार्न टोल टोलबाट कार्यकर्ताहरु काठमाडौं आउने बताउनुभएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीति सम्बन्धी बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । पोखरेलले मंसिर २७ गते प्रतिगामी कदम विरुद्धको ‘क्लाइमेक्स दिन’का रुपमा रहने दाबी गर्नु भएको छ ।
उहाँले एमालेको महाधिवेशनमा उपस्थित जनमानसको बलमा लोकतान्त्रिक प्रक्रिया फर्किने अपेक्षा रहेको बताउनुभयो ।
पोखरेलका अनुसार एमालेले मंसिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यत बागमती,गण्डकी र मधेस प्रदेशमा व्यापक रुपमा जनपरिचालन गरिने बताउनुभयो ।
एमालेले प्रतिनिधी चयन देखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ । ‘पार्टीले नीतिमा छलफलमा नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टी भित्रकै केही साथीहरुले भनेको सुन्छु’ महासचिव पोखरेलले भन्नुभयो ‘नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौं । त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ ।’
पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकोले त्यसलाई रोक्नका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले नेतृत्वका विरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारका विरुद्ध एकमना एकताका साथ उभिनु पर्ने समय आएको बताउनुभएको छ ।
बैठकमा स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रष्तुत गर्नुभएको थियो ।







प्रतिक्रिया