काठमाडौं-नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ।
महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन व्यवस्थापन सचिवालय समितिको बुधबार बसेको बैठकले महाधिवेशनको उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय गरेको हो।
यही मंसिर २७-२९ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने र बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे। गौतमले भन्नुभयो, ‘काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र सल्लाघारी, भक्तपुरमा गर्ने र बन्दसत्र चाहिं भृकुटीमण्डपमा हुने छ।’
बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ।
यसअघि पोखरामा गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णय भएको थियो ।







प्रतिक्रिया