काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित अनौपचारिक कार्यक्रममा गोले एमाले प्रवेश गर्नुभएको हाे।
गोलेलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल लगायतको उपस्थितिमा उहाँलाई पार्टीमा स्वागत गरिएको हो।
पार्टी प्रवेश गर्दै नेता गोलेले एमालेमा प्रवेश गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। एमाले लामो इतिहास बोकेको पार्टी भएको बताउँदै उहाँले आफू पछि जनता समाजवादी पार्टीमा रहेर काम गरेको जानकारी दिनुभयो।
जनता समाजवादी पार्टी विभाजित भएर समाप्त भएको बताउँदै उहाँले देशलाई यतिबेला स्थायित्व आवश्यक रहेको बताउनुभयो। देशलाई स्थायित्व दिन नेकपा एमाले नै बलियो शक्ति बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘यो पार्टीलाई नै मजबुत र सशक्त बनाएर लैजानु पर्ने आजको आवश्यकता छ’, उहाँले भन्नुभयो ।











प्रतिक्रिया