अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन

सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदनमा हेरफेर हुँदैन: अध्यक्ष ओली

सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदनमा हेरफेर हुँदैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको (धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा) समेटिएको लोगो आज सार्वजनिक गर्नुभएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताउनुभयो।

अध्यक्ष ओलीले महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा गर्न खुला छाडिने समेत बताउनुभयो। ‘महाधिवेशनमा मतदान हुन्छ। कसैले मतदान गर्न नदिएर, नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा सेन्टिमेन्टलको कुरा हुँदैन, प्रतिस्पर्धा खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ’, अध्यक्ष ओलीले भन्नभयो– ‘तर अध्यक्षको हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छाड्नुपर्छ र जसले बस्नुपर्छ सहमतिका साथ गरौँ।’

अध्यक्ष ओलीले प्रतिस्पर्धालाई नराम्रो नमानिने भन्दै रोजेर र छानेर नै ल्याइएको दाबी गर्नुभयो। ‘यसअघि नै हामीले नीतिगत रूपमा देशको व्याख्या विश्लेषण गरेका छौँ। ३ महिना अघि नै हामीले काम, सफलता र कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रस्ताव पारित गरेका छौँ’, अध्यक्ष ओलीले भन्नुभयो– ‘सङ्गठनको अवस्था कस्तो छ त्यो पनि गरिसकेका छौँ। अहिले सङ्गठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपरेको छैन, भर्खरै विधान महाधिवेशनले गरेका छौँ। अब राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिरहनुपर्ने अवस्था छैन। किनभने भर्खरै महाधिवेशनले गरिसकेको छ।’

अध्यक्ष ओलीले विधानमा ठुलो परिवर्तन गर्नुपर्ने अवस्था पनि नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केही सानोतिनो रहेछ भने छोटो विधिबाट गरिनेछ। लामो डिस्कस हुने छैन।’