अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरेको आरोपमा पूर्वसांसद मोदीका स्वकीय सचिव अन्सारी पक्राउ

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरेको आरोपमा पूर्वसांसद मोदीका स्वकीय सचिव अन्सारी पक्राउ


विराटनगर-जेनजी आन्दोलन क्रममा २०८२ भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिवसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।  

अन्सारीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको मोरङ प्रहरीले जनाएको छ।उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ।

अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए।  जेन्जी आन्दोलनक्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए। त्यसपछि उनले भिडियो हटाएर केही दिन बेपत्ता भएका थिए। माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि उनी सार्वजनिक भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी मोदीकै अघिपछि देखिँदै आएका थिए।

अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडक्रममा प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियोसमेत सार्वजनिक भएको थियो । पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ।

अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ।

मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन्।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।