अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रतिनिधि छनोटमा धनकुटाबाट को-को ?

एमाले प्रतिनिधि छनोटमा धनकुटाबाट को-को ?


धनकुटा-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७-२९ मा काठमाडौँमा हुँदैछ। एमालेले देशभर मंसिर १३ गते महाधिवेशन प्रतिनिधि चयन गरी आजसम्म केन्द्रमा नाम पठाउन निर्देशन जारी गरेको थियो। निर्देशन जारी अनुसार सहमति नभएपछि मतदान प्रक्रियामार्फत धनकुटा जिल्लाबाट १३ जना प्रतिनिधि चयन गरिएको हो।

खुल्लातर्फको मतदान प्रक्रियाबाट शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित हुनुभएको छ।

महिलातर्फको चुनावमा तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित हुनुभएको छ।  निर्वाचित महिलाहरू विभिन्न सामाजिक अभियान, महिला सशक्तीकरण कार्यक्रम, तथा स्थानीय तहका नीति–निर्णयका प्रक्रियामा सक्रियता देखाउँदै आएका छन्।

युवातर्फबाट सरोज राई निर्वाचित हुनुभएको छ। यसैगरी दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। दलिततर्फ उम्मेदवार सर्वसम्मत बन्नुले संगठनभित्र समावेशी नेतृत्वबारे सहमति र सकारात्मक सन्देश दिएको देखिन्छ।

निर्वाचित सबै १३ जना प्रतिनिधिलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, एमाले कोसी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राईलगायतका नेताहरू उपस्थित थिए।

नेताहरूले ‘महाधिवेशन प्रतिनिधि चयन केवल पद प्राप्तिको विषय नभई पार्टीलाई सही मार्गदर्शन गर्ने अवसर’ भएको भन्दै नव–निर्वाचित प्रतिनिधिहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।