काठमाडौँ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एमालेको ब्राण्ड भएको बताउनुभएको छ।
सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव गुरुङले यस्तो बताउनुभएको हो।
चौतारीको संवाद कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले भन्नुभयो, ‘केपी ओली कुनै साधारण नाउँ होइन, उहाँ एमालेको एक ब्रान्ड हो- विकास, राष्ट्रवाद र स्वाभिमानको प्रतीक।’
उपमहासचिव गुरुङले जबजकाे उतराधिकारी परिवारका हुन नसक्ने पनि बताउनुभयो। उहाँले जनेजी आन्दोलनपछि एमालेले अङ्गालेको जनताको बहुदलीय जनवाद (जबज)माथि समेत कतिपयले प्रश्न उठाउने गरे पनि जबजको सान्दर्भिकता अझै बढ्दै गएको बताउनुभयो। पछिल्लो परिस्थितिमा नेपालका कतिपय कम्युनिस्ट पार्टीहरू एकीकरणका नाममा वृद्धाश्रममा परिणत भएको अवस्थामा मुलुकको समग्र हित र विकासका लागि नेकपा एमालेको औचित्य र आवश्यकता थप बढ्दै गएको उहाँले बताउनुभयो ।
उपमहासचिव गुरुङले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक राजनीतिक हिसाबले विशेष किसिमको हुने बताउनुभयो। उहाँले महाधिवेशन वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि विशेष र महत्त्वपूर्ण हुने बताउनुभयो।






प्रतिक्रिया