बिर्तामोड-झापा क्षेत्र-२ बाट एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन्।
खुल्लातर्फ ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो। निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए। कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन्।
यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ निर्वाचित भएका हुन्। निर्वाचनको हिजो राती गणनाका क्रममा मत छुतेको विषयमा विवाद हुँदा आज बिहानबाट खुल्ला तर्फको पुनःमत गणना गरिएको थियो। विवाद हुँदा ६ सय मत गणना गर्न बाँकी थियो ।
क्षेत्रमा महिला तर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित निर्वाचित हुनुभएको छ । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन्। दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो। दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ।
उता, झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन्। महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित हुनुभएको छ भने युवातर्फ दिपक बराल निर्वाचित हुनुभएको छ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित हुनुभएको छ। युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।








प्रतिक्रिया