काठमाडौँ-नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेश यही मंसिर २७-२९ गतेसम्म काठमाडौंमा हुँदैछ। एमालेले २०८२ मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरेर मङ्सिर १५ भित्र छनोट भएका प्रतिनिधिको नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो। तर, केन्द्रको सर्कुलर अनुसार प्रतिनिधिहरूको नाम तोकिएको समयमा केन्द्रमा आइसकेको छैन। कतिपय जिल्लामा सर्वसम्मत र निर्वाचनबाट प्रतिनिधि छनोट गरेको थियो ।
महाधिवेशनका लागि प्रतिनिधि छनोट क्रममा देखिएका विवाद समाधानको जिम्मेवारी सम्बन्धित प्रदेश कमिटी, जिल्ला इन्चार्ज तथा केन्द्रीय संगठन विभागबाट खटाइएका प्रतिनिधिलाई दिएको छ।
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा अन्तर्विरोध देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका सदस्य (प्रतिनिधि)लाई दिइएको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो।
‘अन्तर्विरोध देखिएका स्थानमा सोही प्रदेशका इन्चार्ज, जिल्ला इन्चार्ज र सङ्गठन विभागबाट खटाइएका प्रतिनिधिले सहजीकरण गरेर मिलाउन जिम्मा दिइएको छ’, ढुङ्गेलले भन्नुभयो, ‘कतिपय स्थानमा मिलिसकेको छ भने कतिपयमा आज बेलुकासम्म मिलिसक्छ।’
सचिव ढुङ्गेलका अनुसार सुदूरपश्चिमको बझाङमा प्रतिनिधिको दोहोरो समस्या देखिएको थियो भने कर्णालीको दैलेख र सल्यानमा प्रतिनिधि चयनका विषयमा केही समस्या देखिएको थियो। ‘कर्णालीको समस्या टुंगिसक्यो, मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नम्बर १ मा केही समस्या देखिएपनि मिलाउने क्रम जारी छ’, ढुङ्गेलले भन्नुभयो, ‘कोशीमा ओखलढुङ्गा र धनकुटाको विवाद मिलाउने काम भइरहेको छ।’
उहाँका अनुसार सात भूगोलसहित नौ प्रदेश कार्यालयमा प्रतिनिधिहरूका नाम सङ्कलन र विवरण मिलाउने काम भइरहेको छ। ‘प्रदेश कार्यालयमा तलबाट आएका निर्णयका आधारमा सेटअप र फर्म्याटिङ भइरहेको छ । यो प्रक्रिया सकिएपछि मात्र प्रतिनिधिहरूको नाम केन्द्रमा पठाइनेछ,’ उहाँले स्पष्ट पार्नुभयो।






प्रतिक्रिया