काठमाडौं-नेकपा एमालेले महाधिवेशन ओखलढुंगापछि धनकुटाको प्रतिनिधि छनौट प्रक्रिया रद्ध गरेको छ । संगठन विभागले पाँच दिन भित्र पुन निर्वाचन गरी प्रतिनिधिहरुको नाम केन्द्रमा पठाउन निर्देशन जारी गरेको छ ।
पार्टीको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले जिल्ला कमिटीलाई एक पत्र लेख्दै पार्टीको अपानि १३ ले तय गरेको विधिमा नसमेटिने गरी प्रतिनिधि छनौट गरिएकोले त्यसलाई रद्ध गरेर नयाँ प्रक्रियामा जान निर्देशन गरिएको छ । पत्रमा लेखिएको छ त्यस जिल्लाको महाधिवेशन प्रतिनिधि निर्वाचन पूर्ण भएको महसुष गर्न सकिएन ।तसर्थ प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सुचना सम्प्रेषण गरी पालिकास्तरमा मतदान केन्द्र व्यवस्थापन गरी पाँच दिन भित्र पुन निर्वाचन गर्न निर्देशन गरिन्छ ।
निर्वाचनको प्रक्रियालाई पुन सहजिकरण गर्न पार्टी स्थायी कमिटीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य एवं धनकुटाका इन्चार्ज राजेन्द्र राईलाई जिम्मेवारी दिइएको विभागले जनाएको छ ।
केन्द्रीय कार्यसुची अनुसार अस्ती १३ गते सबै ६० वटै वडामा मतदान केन्द्र स्थापना गरेर मतदान प्रक्रिया भएको थियो । सदरमुकाम धनकुटामा भने केही नेताहरुले एकलौटी गरेको भन्दै पार्टी भित्रैकै असन्तुष्ट समुहले मतपत्र च्यात्ने र तोडफोड पनि गरेको थियो । सोही उजुरीका आधारमा पार्टी केन्द्रले पुन प्रतिनिधि निर्वाचन गर्न निर्देशन पठाएको हो ।








प्रतिक्रिया