अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनका युवा प्रतिनिधि भन्छन्- केपी ओलीको नेतृत्वमा २५ प्रतिशत युवा केन्द्रीय सदस्य बनाऊँ 

एमाले महाधिवेशनका युवा प्रतिनिधि भन्छन्- केपी ओलीको नेतृत्वमा २५ प्रतिशत युवा केन्द्रीय सदस्य बनाऊँ 


काठमाडौं-नेकपा एमालेको ११औं महाधिवेशनमा निर्वाचित भएका युवा प्रतिनिधि (अण्डर फोर्टी)हरुले केपी शर्मा ओलीको नेतृत्वमा ठुलो सङ्ख्यामा युवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्नुपर्ने बताएका छन्। भावी नेतृत्व विकास गर्नका लागि ‘एमालेको अनुहार’को रूपमा केन्द्रीय कमिटीमा कम्तीमा २५ प्रतिशत युवा हुनुपर्ने युवाहरूको माग छ।

 जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको भूमिकाको चर्चा चुलिएका बेला एमालेको महाधिवेशन हलमा प्रवेश गर्ने युवाहरूको सहभागिता अर्थपूर्ण छ। एमालेले प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधि मध्ये चालीस वर्ष भन्दा मुनी (अण्डर फोर्टी)को  अलग्गै क्षेत्र बनाएर त्यहाँ युवाहरू बीच मात्र प्रतिस्पर्धा गर्नुपर्ने विधि तय गरेको थियो। पार्टीको यो विधिले कम्तीमा १६५ जना युवा महाधिवेशन प्रतिनिधि बनेर नेतृत्व छानिने र छान्ने प्रक्रियामा सामेल हुँदैछन्। एमालेका अनुसार चौथो महाधिवेशन पछाडि सबैभन्दा ठुलो सङ्ख्यामा युवा प्रतिनिधि ११ औं महाधिवेशनमा सहभागी हुँदैछन्।

 युवा प्रतिनिधिहरूले अनुभव र आकाङ्क्षालाई समेटेर पार्टीले नेतृत्व छनौट गर्नुपर्ने बताएका छन्। युवालाई नेतृत्वमा पुर्‍याउने अभ्यास एमालेले विभिन्न फोरमहरूमा विगत देखि नै गरिरहेकोले अहिले पार्टीको मूल प्रवाह अर्थात् महाधिवेशन हलमा नै युवालाई आरक्षण गरेर एमाले युवा मैत्री पार्टी भएको नयाँ सन्देश भएको उनीहरूको धारणा छ।

 बाराको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित युवा प्रतिनिधि लक्ष्मी यादवका अनुसार एमाले एकैचोटी ठूलो संख्याका युवाहरुलाई महाधिवेशन प्रतिनिधि बनाएर राजनीतिमा युवाको ठाउँ छ भन्ने सन्देश दिएको बताउनुहुन्छ। ‘एमालेले युवालाई यस अघि पनि ठाउँहरु दिएको हो तर त्यो कुरा चर्चामा थिएन। म दुईवर्ष देखि बारामा पार्टीको उपसचिव थिएँ’ ३८ वर्षीय यादव भन्नुहुन्छ ‘अहिले महाधिवेशन प्रतिनिधिमा चुनाव जितें। पहिला पनि युवालाई मौका दिइएको थियो। तर अहिले देशले नै देख्नेगरी एक्स्पोज भएको हो।’

 युवालाई नेतृत्वमा स्थापित गर्ने नाममा अनुभवी नेतृत्वलाई बिस्थापन गर्ने सोच ल्याउनु नहुने यादवको भनाइ छ। ‘देश र पार्टीको लागि अध्यक्ष केपी शर्मा ओली अहिलेको आवश्यकता हो। उहाँलाई मुल नेतृत्व मानेर भावी नेतृत्व विकास गर्नका लागि केन्द्रीय कमिटीमा युवाहरुको ठूलो संख्या प्रवेश गराउनु पर्दछ’ यादवले भन्नुभयो।

 रुपन्देही-२ बाट निर्वाचित युवा प्रतिनिधि बालकृष्ण पाण्डे एमालेले पार्टी केन्द्रमा ठुलो संख्यामा युवा प्रवेश गराउनका लागि नै आफ्नो उमेर समुहको प्रतिनिधित्व गराएको बताउनुहुन्छ। ‘एमालेले जेन जी आन्दोलनपछि  युवाका लागि स्थान दिएको भन्ने कुरा गलत हो। एमालेले अनेरास्ववियुमा,युवा संघमा युवालाई मात्र नेतृत्व दिंदै आएको हो’ पाण्डे भन्नुहुन्छ, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्ष भन्दा कम उमेरका विद्यार्थी मात्र प्रतिष्पर्धा गर्न पाउछन्। त्यसमा हाम्रो संगठनबाट सबैभन्दा धेरै युवाहरु नेतृत्वमा हुनुहुन्छ।’ पाण्डेको भनाइमा पार्टी र राजनीतिक मोर्चामा युवालाई स्थान दिनुपर्दछ भन्ने कुरा एमालेबाटै अरु पार्टी र समुहले सिकेको उहाँको भनाइ छ।

नवराज ओझा ३० वर्षको उमेरमा कास्कीको रुपमा गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको थियो। उहाँ दोस्रो कार्यकाल पनि अध्यक्ष निर्वाचित हुनुभएको छ। यस पटक युवा क्षेत्रबाट पार्टीको महाधिवेशन प्रतिनिधि। उहाँको भनाइमा नीति र नेतृत्व चयनमा पुरानो र युवा पुस्ताको मिश्रण हुनु जरुरी छ। ‘वर्तमान नेतृत्वको अनुभव र कार्ययोजनालाई  युवाहरुले कार्यान्वयन गर्ने हो ’३८ वर्षीय ओझा भन्नुहुन्छ ‘राजनीतिबाट टाढा रहेका युवालाई हामी जस्ता युवा नेताबाट राजनीतिको नजिक ल्याउने हो । हाम्रो जोड त्यस्ता युवालाई एमालेमा समाहित गर्नेमा केन्द्रीत हुन्छ।’

 अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट निर्वाचित ३० वर्षीय युवराज पौडेल पार्टीले दिएको यो अवशरलाई पार्टी हितकै लागि प्रयोग गर्ने बताउनुहुन्छ । ‘११ औं महाधिवेशनका युवा प्रतिनिधि पार्टीको परीक्षणकालमा छौं । महाधिवेशनमा हाम्रो भूमिका विवेकपूर्ण र नेतृत्वदायी भएमा आगामी महाधिवेशनमा युवाको संख्था थपिन सक्छ’ पौडेल भन्नुहुन्छ ‘युवा जोशको नाममा बहकिने,पार्टीको मुल स्पिरिट भुल्ने र अरु कसैका एजेण्डा बोकेर हिड्ने गल्ती भयो भने हामीलाई भर्खरै निर्वाचित गरेका कार्यकर्ताको समेत विश्वास गुमाउछौं।’ केपी ओलीको आवश्यकता एमालेमा भएकै कारण विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएकोले सोही निष्कर्षलाई बोक्नुको बिकल्प नभएको पौडेलको भनाइ छ।

चितवनबाट निर्वाचित युवा प्रतिनिधि निशा अधिकारी महाधिवेशन प्रतिनिधिको रुपमा छनौट भएका युवा एमालेका पुँजी भएको बताउनुहुन्छ । उहाँको भनाइमा एमालेले यस अघि नै प्रदेश अधिवेशनमा युवा प्रतिनिधिको अभ्यास एमालेले गरिसकेको अधिकारीको भनाइ छ ।  महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिताले पार्टीमा युवा छैनन् भन्ने आरोपको ठाडै खण्डन गर्ने उहाँको भनाइ छ । ‘४० वर्ष मुनीका युवाहरु यसपाली अप्रत्यासित रुपमा एमालेको महाधिवेशनको हलमा प्रवेश गर्दैछन्’ ३६ वर्षीय अधिकारी भन्नुहुन्छ ‘यीनै प्रतिनिधिबाट धेरैजना युवाहरु नेतृत्वमा पुग्छौं । जसले गर्दा एमालेमा अरु युवाको पनि आकर्षण बढ्छ । ’ अधिकारीको भनाइमा नीति र नेतृत्वका हकमा एमालेमा  अझै पनि केपी ओलीको आवश्यकता रहेको उहाँको भनाइ छ ।

 एमालेले गतवर्ष देखि नै पार्टीका कमिटीहरुमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै आएको छ । जस अनुसार वडा कमिटीमा ३३,पालिका कमिटीमा २०,जिल्ला र प्रदेशमा १५ प्रतिशत चालीस वर्ष भन्दा मुनीका युवाका लागि आरक्षण कार्यान्वयन गरिसकेको छ । केन्द्रीय कमिटीमा १० प्रतिशत युवालाई आरक्षण गर्ने भनिए पनि युवाहरु कम्तीमा २५ प्रतिशत केन्द्रीय सदस्य युवा हुनुपर्ने माग गरेका छन् ।