अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन: सबै तयारी तीव्र र उत्साहजनक 

एमालेको ११ औं महाधिवेशन: सबै तयारी तीव्र र उत्साहजनक 


काठमाडौँ-नेकपा (एमाले)को मंसिर २७-२९ गतेसम्म काठमाडौंमा आयोजना हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढेको छ। महाधिवेशन तयारीका विषयमा छलफल गर्न बुधबार व्यवस्थापन समिति सचिवालयको बैठक च्यासलस्थित पार्टी कार्यालयमा बसेको छ।

बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, संगठन विभागका प्रमुख सहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी हुनुहुन्थ्यो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो। पार्टीका सबै संयन्त्र महाधिवेशन तयारीमा जुटेका उहाँले बताउनुभयो।

पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार  प्रतिनिधि छनोटको काम करिब सकिएको छ। अधिकांश जिल्लाबाट प्राप्त प्रतिनिधि सूची अब अन्तिम टुङ्ग्याउने क्रममा छ। केही स्थानमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्ण रूपमा केही दिनमै टुङ्गो लाग्ने छ।

एमालेको ११औँ महाधिवेशनमा २ हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन्।

महाधिवेशनको भव्य उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ। हजारौँ कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। सो सभा अहिलेसम्मकै ऐतिहासिक हुने एमालेले बताउँदै आएको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले विभिन्न समिति तथा उपसमितिहरू गठन गरेको छ।  पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई महाधिवेशनलाई शान्त, अनुशासित र भव्य रूपमा सफल बनाउन आह्वान गरेको छ।