नेपालको राजनीतिक इतिहासमा वर्तमान समय अत्यन्तै गम्भीर, विषम र विचारणीय अवस्थाबाट गुज्रिरहेको छ। बहुदलीय गणतन्त्रात्मक राजनीतिक पद्धतिको अभ्यासको क्रममा देशले एउटा नयाँ मोड लिँदै थियो। राजनीतिक स्थिरताको बाटो देखिन थालेको थियो। विकास र निर्माणका कामहरूले गति लिन थालेका थिए। विश्व रङ्गमञ्चमा नेपालको चिनारी उच्च हुँदै थियो। नेपालले अति विकसित मुलुकबाट विकासशील मुलुकको तहमा आफूलाई स्थापित गराउँदै थियो। यसै बखत मुलुकमा जेन्जी प्रदर्शनी र विद्रोहका नाममा दु:खद घटना भयो। त्यसले मुलुकले राजनीतिक स्थिरता, विकासको गतिशीलता र आशाको उज्यालो पक्षमाथि अत्यन्तै क्रूर ढङ्गले प्रहार गर्यो। जसको परिणाम धेरै मानिसहरूको जीवन गयो। मुलुकको खरबौँको सम्पत्ति विनाश भयो। कानुनी, सांस्कृतिक, ऐतिहासिक महत्वका मुलुकका महत्त्वपूर्ण दस्ताबेजहरू खरानी भए । यो काम मुलुक विरोधी तत्त्वबाट, विकास विरोधी पक्षबाट वा निर्दोष असन्तुष्ट पङ्क्तिबाट भएको हो, क्रमशः प्रस्ट हुँदैछ र भविष्यमा पक्कै पनि छर्लङ्गै हुनेछ।
एकातिर संविधान, कानुन र व्यावहारिक पक्ष सबैलाई किनारा लगाएर बनेको वर्तमान सरकारले २०८२ फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ। राजनीतिक पार्टीहरू विश्वस्त हुन सकेका छैनन् उक्त निर्वाचन सम्भव छ भनेर। भदौ २३ र २४ गते प्रहरीबाट खोसिएका, लुटिएका, चोरिएका हतियारहरू सरकारले प्रहरी चौकीमै फर्काउन सकेको छैन। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जेलबाट भगाउने क्रममा देशभरिका जेलहरूबाट भागेका खतरनाक अपराधी कैदीहरू समाजमै अपराधको शृङ्खला निर्माण गर्दै जेल बाहिरै छन्। यस्तो अवस्थामा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न हुन्छ भनेर सर्वसाधारणले समेत विश्वास गर्ने अवस्था बनेको छैन।
अर्कातिर मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनको तयारीमा जुटेका छन्। मुलुकको सबभन्दा विश्वासिलो एवं ठूलो राजनीतिक पार्टी नेकपा एमाले अहिले आफ्नो एघारौं महाधिवेशनको संघारमा छ। नेतृत्व चयनको प्रक्रियाका लागि व्यस्त नेकपा एमालेमा अहिले खासगरी अध्यक्ष पद चर्चाको विषय बनिरहेको छ।
नेपालको बहुदलीय राजनीतिमा एमाले सधैँ प्रभावशाली शक्ति रहँदै आएको छ। यो पार्टी र यसका नीति एवं कार्यक्रमलाई राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय दृष्टिकोण एवं कूटनीतिमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा रहेको पार्टीको अध्यक्ष पद स्वभावैले सर्वाधिक महत्त्वको पद ठहरिने नै भयो। एमालेमा पार्टीको वैचारिक दिशा, नीति निर्माण, सङ्गठन विस्तार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दृष्टिकोणका लागि पनि अध्यक्ष पद महत्त्वपूर्ण देखिएको छ।

यतिबेला ‘एमालेमा अध्यक्ष पदका लागि केपी शर्मा ओली नै उपयुक्त पात्र हुन् कि होइनन्’, भन्ने प्रश्नले आन्तरिक र बाह्य दुवै बहसलाई तीव्र बनाएको छ। यो विश्लेषण कुनै पक्ष वा विपक्ष साबित गर्न नभई, विगत-वर्तमान-भविष्य का आधारमा ओलीको नेतृत्व उपयुक्तताको मूल्यांकन गर्ने उद्देश्यका साथ प्रस्तुत छ।
नेतृत्वका आधार र मूल्यांकनको जरुरत
नेकपा एमाले नेपालको एउटा प्रमुख राजनीतिक दल मात्र होइन, आर्थिक नीति र राष्ट्रियताका पक्षमा एजेन्डाहरू अघि सार्ने रणनीतिक शक्ति पनि हो। नेताको ऊर्जा, दृष्टि, कार्यशैली र राजनीतिक परिपक्वताले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले नेतृत्व चयन अत्यन्तै संवेदनशील विषय हो।
यही प्रश्नको गहिराइमा प्रवेश गर्न, विगत, वर्तमान र भविष्यलाई विश्लेषणको त्रिकोणका रूपमा लिएर यो लेख प्रस्तुत गरिएको हो।
विगत: ओलीको राजनीतिक यात्रा, उपलब्धि र चुनौती
लामो राजनीतिक अनुभव र भूमिकाको निरन्तरता
ओली विगत लामो समय करिब साठी वर्षदेखि सक्रिय राजनीतिमा प्रवेश गरेर कडा राजनीतिक सङ्घर्ष, पार्टी सङ्गठन निर्माण, कडा भूमिगत यात्रा, कठोर जेल जीवन र लोकतान्त्रिक आन्दोलनका चरणहरू पार गर्दै अग्रणी नेतृत्व बने। जनताको बहुदलीय जनवादको वैचारिक आधारलाई लोकप्रिय बनाउने नेतामध्ये उनी शीर्षस्थ मानिन्छन्। पार्टीमा विभिन्न तह हुँदै अध्यक्षसम्मको नेतृत्व जिम्मेवारी, सरकारमा मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्नु ओलीको दीर्घ राजनीतिक यात्राको प्रतिनिधि उपलब्धि हुन्।
दीर्घ अनुभव नेतृत्व मूल्याङ्कनको महत्त्वपूर्ण सूचक हो। एमालेजस्तो संरचनात्मक पार्टीलाई चलाउन अनुभव, कूटनीतिक क्षमता र सङ्कट व्यवस्थापनको क्षमता अनिवार्य पर्छ। यस दृष्टिले ओलीको विगतले नेतृत्व स्थायित्वको आधार निर्माण गरेको देखिन्छ।
प्रधानमन्त्रीका कार्यकाल र नीतिगत पहल
ओलीको पहिलो प्रधानमन्त्री कार्यकालले उनलाई विशेषगरी दुई विषयलाई केन्द्रमा राख्यो-
राष्ट्रियताको उभार र भौतिक पूर्वाधारका एजेण्डाहरू।
केपी ओलीले भारत-नेपाल सम्बन्धमा देखिएको अवरोधमा दृढतापूर्वक उभिएको, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको प्रश्नमा स्पष्ट कूटनीतिक भाषा प्रयोग गरेको तथा चीनसँग वैकल्पिक सम्बन्ध सुदृढ बनाएको उल्लेख गर्न सकिन्छ। यसले उहाँलाई आन्तरिक रूपमा राष्ट्रवादी नेताको रूपमा स्थापित गर्यो। उहाँको ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने विकासवादी दृष्टिकोणले कमजोर मनस्थिति र निराशाको अँध्यारोमा अलमलिएका नेपालीका मनमा आशाको दियो जलाउने काम गर्यो।
दोस्रो कार्यकाल विकास-एजेन्डा, पर्यटन वर्ष, विकासका अनगिन्ती संरचना निर्माण, काठमाडौँ-तराई द्रुतमार्ग, रेलमार्ग, जलविद्युत् विकास र देशमा रहेका खनिज पदार्थहरूका भण्डारहरूको खोजी, अनुसन्धान र उत्पादनका कारण चर्चित मात्र रहेन कामहरूले तीव्रताका साथ गतिसमेत लिए।
संगठन निर्माणमा प्रभाव
ओलीको नेतृत्व शैली दृढ, कामयाबी एवं सङ्कल्पयुक्त मानिन्छ। विचारमा स्पष्टता र काममा गतिशीलता उहाँको महत्त्वपूर्ण पक्ष हो। पदमा रहेर काम नगर्ने तर विचारका नाममा कुरा मात्र गर्नेहरूसँग उहाँको कार्यशैलीले मेल खाँदैन। यसलाई विषय बनाएर कतिपय अवस्थामा पार्टीभित्र र कतिपय अवस्थामा पार्टीबाहिरबाट उहाँमाथि प्रहार हुने गर्छन्। तर केपी आफ्नो सतिसालीय दृढतामा अडिग रहन्छन्। परिणाममा ओलीलाई केन्द्रीय नेतृत्वदेखि आधार इकाई सम्म लोकप्रियता र नेता कार्यकर्ताबाट विश्वसनीयता प्राप्त हुने गरेको छ।
वर्तमान:एमालेको अवस्थामाथि ओली नेतृत्वको प्रभाव
पार्टीभित्रको लोकप्रियता र संरचनागत पकड
आजको एमालेमा ओलीप्रतिको समर्थन अहिले पनि अत्यन्त बलियो मानिन्छ। जनताको बीचमा उनको नाम चिनिने, कार्यकर्तामा उनको प्रभाव व्यापक तथा संगठन संरचनामा विश्वस्त रहने आधार भएको देखिन्छ। यसैबीच, नयाँ पुस्ता उदाउन नसकेको, नयाँ नेतृत्व स्थापित गराउन नसकेको भन्नेजस्ता विषयहरू बेलाबखत आउने गरेको पाइन्छ। एमालेको नेतृत्वमा ठूलो समूहमा रहेको एकै उमेर समूहको पहिलो पुस्ता, त्यस्तैगरी दोस्रो पुस्ताले नै अहिले नेकपा एमालेको नेतृत्व गरिरहेको देखिन्छ। त्यसभित्रबाट कोही न कोही अग्रपंक्तिमा त देखिने नै भयो। वर्तमान अवस्थामा त्यो अग्रपंक्तिमा उभिनेमा केपी ओली देखिएका छन् । यो त नेताहरूमा भएको क्षमताको प्रकटिकरण हो। कसैले बनाएर बन्छु, कसैले उभ्याएर उभिन्छु, कसैले देखाउँदा देखिन्छु भन्ने होइन यो त क्षमता र कार्यशीलतामार्फत प्रस्तुत हुने कुरा हो।
गणतन्त्रात्मक बहुदलीय व्यवस्थामा गतिशील पार्टीमा यस्तो हुनु स्वभाविक पनि हुन्छ।
राष्ट्रिय राजनीतिक परिदृश्यमा एमालेको स्थिति
अहिले नेपालमा गठबन्धन–केन्द्रित राजनीति चलिरहेको छ। यस अवस्थामा पार्टीलाई एकताबद्ध, चुनावतर्फ केन्द्रित, वैचारिक रूपमा स्पष्ट र जनजनसँग जोड्न सक्ने नेतृत्व आवश्यक छ। नेपालको राजनीतिमा अस्थिरता चाहने, विकास र निर्माणको गतिमा अवरुद्धता चाहने, नेपालको भूमिलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय राजनीतिक खेल खेल्ने उद्देश्य लिएका शक्तिहरू र ती शक्तिबाट परिचालित व्यक्ति अथवा पंक्ति हावी रहेको वर्तमान अवस्थालाई चिरेर नेपाली स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अझ बलियो बनाउनुपर्ने अवस्था छ। मुलुकको यस्तो अवस्थामा नेकपा एमालेको महत्वपूर्ण भूमिका देखिन्छ । सिङ्गै पार्टी र देशको नेतृत्व गर्नुपर्ने जिम्मेवारी अबको नेकपा एमालेको नेतृत्वको काँधमा रहेको छ। त्यसकारण पनि नेकपा एमालेलाई वैचारिक स्पष्टता, कूटनीतिक क्षमता, विकास निर्माणको स्पष्ट दृष्टिकोण, राष्ट्रवादी अडान तथा कार्यकर्ताबीच लोकप्रिय एवं दृढ निश्चयी नेतृत्व आवश्यक छ। वर्तमान अवस्थासम्म आइपुग्दा उक्त जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्नसक्ने क्षमता केपी ओलीमा नै देखिन्छ। ओलीले विगतमा चुम्बकीय जनसमर्थन बटुलेको अनुभव छ। उनले राष्ट्रियता, स्थिरता, विकासजस्ता मुद्दामा एमालेलाई बलियो एजेन्डा दिनसक्ने देखिन्छ।
संगठन सञ्चालन क्षमताको परीक्षण
वर्तमान अवस्थामा एमालेका सामु विभिन्न चुनौतीहरू पनि उभिएका छन्। तिनलाई यसरी हेर्न सकिन्छ वैचारिक स्पष्टता, कार्यकर्तामा मनोबल, गुटगत सोचको अन्त्य, युवापुस्तासँगको दूरी घटाउने।
चुनावी राजनीतिका कारण विभिन्न खाले मानिसहरूको प्रवेशले पक्कै पनि नेकपा एमालेको राजनैतिक वैचारिक धारलाई कमजोर बनाएको छ। अबको नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिएर वैचारिक राजनीतिक धारलाई अर्जाप्नुपर्ने अवस्था देखिन्छ।
विद्यमान अवस्थामा कार्यकर्ताहरूमा देखिएको कमजोर मनोबललाई नेकपा एमालेको नेतृत्वले आशा र सम्भावनाका दियोहरू बालेर उठाउन जरुरी छ । सांगठनिक संजालले देशै ढाकेको पार्टी नेकपा एमालेका कार्यकर्ताहरूको मनोबललाई उठाउँदा सिंगै देशको मनोबल उठ्छ भन्ने कुरामा दुईमत छैन।त्यसकारण नेकपा एमालेको नेतृत्वले यस कुरालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ।
अबको नेतृत्वले पार्टीमा यदाकदा देखिने गरेको गुटगत सोचलाई पनि अन्त्य गरी त्यसलाई सामूहिक एकतामा परिणत गराउन सक्नुपर्छ।
वर्तमान अवस्थामा युवा जनशक्तिलाई देशको विकासमा मात्र परिचालित गर्ने योजना होइन पार्टीलाई पनि ती युवाहरूसँग जोड्ने महत्वपूर्ण दृष्टिकोण अपरिहार्य छ। पार्टीका हरेक तहमा युवाहरूको सहभागितालाई गहकिलो र प्रभावकारी बनाउनु आवश्यक छ।
यी चुनौतीहरूसँग टक्कर दिन ओलीको अनुभव बलियो शस्त्र हो। आगामी दिनका लागि नयाँ नेतृत्व विकास गराउदै अगाडि बढ्दा राजनीतिक विज्ञानको दृष्टिले दीर्घकालीन नेतृत्वले स्थायित्व दिन सक्छ त्यसका लागि केपी ओली नै उपयुक्त व्यक्तित्वका रूपमा देखा पर्छन्।
भविष्य: एमाले र देशका चुनौती-अवसरसँग ओलीको मेल
आगामी निर्वाचन र रणनीतिक सोच
आगामी संघीय तथा अन्य चुनावका लागि एमालेको नेतृत्वमा दृढता, एजेन्डामा स्पष्टता तथा संगठनमा गति आवश्यक छ। ओलीले चुनावी अभियानमा प्रभाव देखाउने क्षमता राख्छन्। राष्ट्रहितको सोच, लोकप्रिय सम्बोधन शैली र राजनीतिक अनुभव उनका बलिया पक्ष हुन्। अबका दिनमा नेतृत्वले पार्टीलाई वैचारिक सशक्ततासहितको संगठनात्मक सुधार गर्न आवश्यक भइसकेको छ। त्यस्तै कार्यक्रम आधारित राजनीति र युवा नेतृत्व तयार गर्नुपर्ने अर्को आवश्यकता बढ्दै गएको देखिन्छ।
देशका प्रमुख मुद्दा र नेतृत्व क्षमता
भविष्यमा एमालेजस्तो पार्टीलाई नेतृत्व गर्न चाहनेका लागि धेरै मुद्दाहरू समाधानको उपाय र बाटो खोजेर पर्खिरहेका छन् । समग्र मुलुकको आर्थिक सुधार, कूटनीतिक सन्तुलन, संघीयता कार्यान्वयन, सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी र सामाजिक–सांस्कृतिक समावेशिता
जस्ता विषयमा स्पष्ट नीति आवश्यक छ। केपी ओलीका अनुभव र क्षमता यी मुद्दा बुझ्न पर्याप्त छन् । अब दृढता, व्यावहारिकता, पार्टी र राष्ट्र हितप्रतिको दूरदर्शिता र एकताको शैलीलाई अपनाउदै पार्टीको नेतृत्व गर्दा केपी ओलीले सिङ्गो देशको नेतृत्व गरेको ठहरिने छ ।
सारंश
ओली “उपयुक्त” भन्ने पक्षमा उठ्ने मुख्य तर्क
अबको एघारौँ महाधिवेशनले नेकपा एमालेको नेतृत्वमा केपी ओलीलाई नै कायम गर्नुपर्ने नेता तथा कार्यकर्ताको अभिमतलाई सम्मान गर्न जरुरी छ। त्यसका लागि केपी ओली नै उपयुक्त हुन् भन्ने कुराहरूलाई सारंशमा निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ:
दीर्घ राजनीतिक अनुभव र संगठनमा सुदृढ पकड, सशक्त निर्णय क्षमता र दृढ नेतृत्व शैली, राष्ट्रवाद र विकास एवं राजनीतिक स्थिरताको एजेन्डामा जोड, चुनावी अभियानमा लोकप्रियता र त्यसको प्रभाव, राजनीतिक संकटमा पार्टीलाई बचाउने क्षमता र कार्यकर्तालाई संरक्षण दिने शैली।
उल्लेखित सन्दर्भहरूले नेकपा एमालेको एघारौं महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुनुपर्ने अवस्थालाई देखाउँछ। हुन त खुला निर्वाचन प्रक्रिया अवलम्बन गर्ने पार्टीमा निर्वाचनबाटै नेतृत्व चयन होला। यस्तो अवस्थामा पनि मुलुकभरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले नेकपा एमाले र सिंगै नेपाललाई नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै अध्यक्षको रूपमा अवश्य चयन गर्नेछन्।







प्रतिक्रिया