अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११औँ महाधिवेशन

एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी

एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी


काठमाडौं-नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ।

११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। नेताहरूले उम्मेदवारी घोषणा सुरु गरिसकेका छन्। सोही घोषणा गर्ने क्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गर्नुभएको छ। नेता तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गरेकाे बताउनुभयो।

‘११ औँ महाधिवेशनमा पुन: अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो दाबी रहन्छ’, नेता तामाङले भन्नुभयो, ‘त्यसैले मतदाताहरूलाई त्यही आग्रह पनि गरिरहेको छु। हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु। हाम्रो सोलिडारिटी सधैँ रहनेछ।’

एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहनेछन्।

तामाङ २०४७ सालदेखि पूर्णकालीन रूपमा एमालेमा सक्रिय भएका हुन्। २०५४ सालमा एमाले विभाजनमा नेकपा मालेतिर लागेका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उनी निर्वाचित भएका थिए।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ का निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेतसँग पराजित भए। २०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री बनेका थिए।

तामाङ २०६५ को आठौं राष्ट्रिय महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटीमा आएका हुन्। नवौंमा तामाङ केन्द्रीय सदस्य नै थिए। बीचका केन्द्रीय कार्यालय सचिव बनेका तामाङ दसौं महाधिवेशनपछि स्थायी कमिटी चुनिएका हुन्।