अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो। एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।

‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ’, उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो’, ‘टेण्डर आव्हान भइसकेको छ। चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ।’

महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो। एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ।

महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित गर्ने एमालेले जनाएको छ। पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताउनुभयो।

संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन्। ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको उहाँले बताउनुभयो। एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि स्वयंसेवाको समन्वय गर्नेछ।