काठमाडौं-नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ निवासको शिलान्यास भएको छ। बिहीबार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीका लागि नयाँ घर निर्माण कार्य सुरु भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले फेसबूकमार्फत जानकारी गराउनु भएको हो।
अध्यक्ष ओली पत्नी राधिका शाक्यले बिहीबार औपचारिक रूपमा भवन शिलान्यास गर्नुभएको हो।

‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा शुरू गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ’, नेता बस्नेतले सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ।
अध्यक्ष ओली निवास बनाउन बस्नेतले नै अगुवाइ गरिरहेका छन्। उहाँले अध्यक्ष ओलीको नयाँ निवासको थ्रीडी इमेज समेत सार्वजनिक गर्नुभएको छ।

यसअघि भक्तपुरकै बालकोटमा अध्यक्ष ओलीको घर थियो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उक्त घर प्रदर्शकारीले जलाइदिएका थिए। त्यसयता सो घर खण्डहर छ। बालकोटस्थित निवास आगजनीमा परेपछि अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्दै आउनुभएको छ।

उक्त घर मरणोपरान्त राज्यका नाममा हुनेगरी दान गरिसकेको ओली परिवारले बताउँदै आएका छन्। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफै पुनर्निमाण गरेर नबस्ने ओली दम्पत्तिले बताउने गरेका छन्।







प्रतिक्रिया